close

जाडो गयो, हावाहुरी चल्यो तर बनेन स्कुल 

जाडो गयो, हावाहुरी चल्यो तर बनेन स्कुल 

Trulli
ADVERTISEMENT

बागलुङ– वर्षातले छोप्न लागिसकेको छ । दिनदिनै हावाहुरी चल्न थालेकोले बालबालिका पढाउन समस्या पर्न थालिसकेको छ । तमानखोला गाउँपालिका–६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयको भवन बनिनसक्दा बालबालिकाले जोखिम मोलेर पढ्नु परेको हो । 


यहाँका बालबालिकालाई छाप्रोमा राखेर पढाइन्छ । २०७२ सालको भूकम्पले विद्यालयको भवन भत्काइदिएपछि अघिल्लो वर्षदेखि निर्माण थालिएको थियो । तर गत वर्षदेखि नै कोरोना संक्रमणका कारण गरिएको लकडाउनले निर्माणमा ढिलाइ हुँदा बालबालिकाहरु छाप्रोमा बसेर पढ्न बाध्य भएका छन् ।


यहाँ झण्डै १ सय ५० बालबालिका पढ्छन् । अहिले उनीहरु सानो छाप्रोमा छन् । तमानखोलाले कोरोनाबाट बच्दै गत भदौदेखि नै विद्यालय सञ्चालनमा ल्याएको थियो । त्यतिबेला झरी पर्दापर्दै बनाएको छाप्रो अहिले पनि उस्तै छ । जाडोमा कठ्यांग्रिएर पढेका बालबालिका फेरी हावाहुरीमा पनि छाप्रोमै छन् । 


नर्जाखानी समुन्द्री सतहबाट ४ हजार २ सय मिटर उचाइमा रहेकोले यहाँ अत्याधिक जाडोसमेत हुन्छ । गत पुस माघमा अत्याधिक चिसो र चैत वैशाखमा धेरै हावा चल्ने भएकोले बालबालिकालाई पढ्न समस्या परेको प्रधानाध्यापक ओमप्रकाश छन्त्यालले बताए । भवन अभावमा बालबालिकाले सास्ती खेपेर बढ्न बाध्य छन् । 


विद्यालय भत्काएपछि अहिले राष्ट्रिय पुननिर्माण प्राधिकरणले ४ कोठे भवन बनाउन थालेको छ । निर्माणाधीन भवनका लागि बजेट अभाव भएर काम रोकिएको प्राधिकरणको शिक्षा अधिकृत मोतीलाल चपाईंले बताए । 


‘कारणवश रकम निकासामा ढिलाइ भएको छ, त्यसैले ढलानको काम रोकियो,’ चपाईंले भने, ‘चालु वर्ष काम सकेर बालबालिका पढाउन सकिने बनाउँछौं ।’ रकमका लागि प्राधिकरणमा ताकेता भैरहेको समेत उनले जानकारी गराए । 


प्राधिकरणले ७० लाख रुपैयाँको लागतमा यो भवन निर्माण गर्न लागेको हो । विद्यालय अभावमा गत वर्षातदेखि नै सास्ती खेपेको विद्यार्थीले पनि गुनासो गरे । ‘कहिले झरी, कहिले चिसो र बतासले कक्षामा बस्दापनि कति गाह्रो हुन्छ, तर पनि पढ्न गैरा’छौं,’ कक्षा ५ मा पढ्ने पविना शिर्पालीले भनिन्, ‘साना भाइबहिनी बिरामी भएर कति दिनसम्म पढ्न आउनै सकेनन् ।’ 


विद्यालयले छाप्रोमा राख्दा सबै अटाउन नसकेपछि २ वटा समूह बनाएर पढाइएको थियो । कोरोना संकट टरेपछि मात्रै सबैलाई एउटै कक्षामा राख्न थालिएको छन्त्यालले बताए । 


यहाँको अर्को चारकोठे भवन पनि निर्माणाधीन अवस्थामै छ । गाउँपालिकाको ५० लाख रुपैयाँमा यो भवन बन्दै गरेको अध्यक्ष जोकलाल बुढाले बताए । विद्यालयको जग्गा अभावले एकैपटक सबै भत्काएर मात्रै बनाउनु परेको छन्त्याल बताउँछन् । दैनिक छाप्रोमा पढ्नुपर्दा बालबालिका बेलाबेला बिरामी भइरहेपनि केही गर्न नसकेको उनले गुनासो गरे । 


‘समस्या पनि छ, समयमा काम सकौ भनेर लागेका पनि छौं,’ उनले भने, ‘गाउँपालिकातर्पmको भवन वैशाखमै सक्र्छौं, अर्को कहिले सकिन्छ भन्ने अन्यौल भएको छ ।’ दुवै भवन बनेको खण्डमा ८ कोठा पक्की भएपछि बालबालिका पढाउन सजिलो हुने उनले बताए ।