close

हिंसाविरुद्ध कक्षाकोठामा उपप्रमुखको लेक्चर 

हिंसाविरुद्ध कक्षाकोठामा उपप्रमुखको लेक्चर 

Trulli
ADVERTISEMENT

भक्तपुर– कक्षाकोठाभरि विद्यार्थी । सबैको हातहातमा कापी–कलम । अगाडि उभिएकी छन्, सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत । 

 

कक्षामा सहभागी महिला (विद्यार्थी) लाई सुनाउँदै थिइन्, ‘महिला हिंसा गर्न कुटपिट या जबर्जस्ती मात्रै होइन, कसैको घोचपेच, वचन या अप्ठेरो पर्ने व्यवहारले समेत हिंसा हुने गर्दछ ।’ 

 

यो दृश्य सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित सिरुटार माध्यमिक विद्यालयको हो । सिरुटारका महिला समूह तथा आमा समूहका महिलालाई उद्यमी बनाउने उद्देश्यले पालिकाले अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । 


२ दिने अनुशिक्षण कार्यक्रममा उपप्रमुख जुना बस्नेतले शिक्षिकाको जिम्मेवारी पाएकी थिइन् । उनी यस दिन उपप्रमुखभन्दा पनि महिला हिंसाबारे जानकारी दिने शिक्षिकाको रूपमा प्रस्तुत भइन् । 


उनले विश्वको महिला आन्दोलनसँगै नेपालको अवस्थाबारे ४० जना महिलालाई पढाउँदै थिइन् । महिला हिंसा रोक्न उनीहरूमा आर्थिकसँगै सामाजिक क्षमता हुनुपर्ने औँल्याउँदै उनले भनिन्, ‘यसका लागि पालिकाले महिलालाई सहयोग गर्नेछ । महिलालाई उद्यमी बनाउनेछौँ । महिलामार्फत व्यवसाय सञ्चालन गर्छौं ।’ 


विभिन्न स्वरूपको भूमिका वहन गर्नुपर्ने महिला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसामा पर्दै आएको उनले बताइन् । यसले गर्दा पनि महिला आर्थिक रूपमा सक्षम हुनैपर्ने उनको बुझाइ छ । 


कार्यक्रममा सिरुटारका वनकाली र त्रिनेत्रश्वर महिला समूहका ४० जना महिलाको सहभागिता थियो । महिलालाई उद्यमी बनाउन पालिकाले २ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । 

 

कार्यक्रममार्फत उद्यमी र व्यवसायी बनाउन महिला समूहलाई तालिमसँगै आर्थिक सहयोग पालिकाले गर्नेछ । त्यसका लागि महिलाले समूह वा एकल रूपमा काम गर्न सक्नेछन् । 


वडाध्यक्ष सानुकाजी कायस्थले महिलालाई सक्षम बनाउन वडा कार्यालय तथा पालिकाले सहयोग गर्ने योजना बनाए पनि माग नआएको गुनासो गरे । कार्यक्रममार्फत महिलालाई उद्यमी बन्न उनले आग्रह गरे । 


कार्यक्रमका लागि पालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ । शाखाका अनुसार समूहबाट आएको माग र त्यसको सम्भाव्यताको अध्ययन गरी वैशाखमा तालिम सञ्चालन गरिनेछ । तालिमपछि पालिकाले नै व्यवसाय गर्न खोजेको सामग्री खरिद गरी स्थानीयलाई वितरण गर्नेछ ।