close

नमोबुद्धमा सञ्चालित उद्योगलाई वातावरणमैत्री बन्न आग्रह 

नमोबुद्धमा सञ्चालित उद्योगलाई वातावरणमैत्री बन्न आग्रह 

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले वातावरणमैत्री नगर बनाउने अभियानलाई सघाउन उद्योगीसँग आग्रह गरेको छ । नगरपालिका उद्योगविरोधी नभए पनि नगरमा सञ्चालित उद्योग वातावरणमैत्री हुनैपर्ने नगरपालिकाले प्रस्ट पारेको छ । 

 

नमोबुद्ध नगरपालिकामा सञ्चालित इँटा उद्योगका विषयमा पत्रकार सम्मेलन गर्दै १० जेठ २०७४ मा पद वहाली गर्दा नगरपालिकाका जनप्रतिनिधिले वातावरणमैत्री नगर बनाउने प्रतिबद्धता जनाएको स्मरण गराइएको छ ।

 

पत्रकार सम्मेलनमा नगरमा रहेका इँटा उद्योग विस्थापन गर्न २८ पुस २०७५ मा भएको नगरपालिका र उद्योगीबीचको करार सम्झौता कार्यान्वयनको क्रममा ८ र ९ भदौ २०७६ मा उद्योग विस्थापन गरिएको उल्लेख छ । 

 

विज्ञप्तिमा उक्त सम्झौता तथा उद्योग विस्थापनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पुनः इँटाभट्टा सञ्चालनमा ल्याइएकाले सम्झौता कार्यान्वयन र अदालतको आदेश पालनाका लागि उद्योगीलाई नगरपालिकाले आग्रह गरेको छ ।

 

सर्वोच्च अदालतले इँटा उद्योगको विषयलाई यथास्थितिमा राख्न आदेश दिए पनि त्यसलाई अटेर गर्नु अनुचित भएको नगरपालिकाको भनाइ छ । इँटा उद्योग सञ्चालन भएको सन्दर्भमा बाहिर आएका हल्ला र भ्रमको पछि नलाग्न सबै नगरबासी र सरोकारवालालाई आग्रह गरिएको छ । नमोबुद्धको वडा नम्बर २ मा रहेको सत्यनारायण इँटट्टा उद्योग २६ फागुनबाट सञ्चालनमा आएको छ ।

 

पत्रकार सम्मेलनमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वच्छ र सफा नमोबुद्धको अभियानमा पछि नहटेको दाबी गरे । उद्योगीहरूलाई विभिन्न समयमा सचेत गराउँदा गराउँदै सहमतिविपरीत भट्टा सञ्चाल भएको उनले बताए ।

 

नगरले वातावरण र प्रविधिमैत्री उद्योग सञ्चालन गर्न उद्योगीलाई आग्रह गरे भए पनि त्यसको सुनुवाइ नभएको उनको भनाइ छ । नगरले भू–उपयोग नीतिअनुसार कृषि, उद्योग, पर्यटनलगायत क्षेत्र छुट्याएर विकास गर्ने नीति लिएको र सोहीअनुसार योजना कार्यान्वयन अघि बढेको नगरप्रमुख तिमल्सिनाले जानकारी दिए ।

 

पछिल्लो समय विकसित घटनाक्रमबारे छलफल र आवश्यक निर्णय गर्न नमोबुद्धले आउँदो १८ चैतमा नगरसभाको विशेष बैठक आह्वान गरेको छ । ‘दीर्घकालीन प्रभाव पार्ने विषयमा सिंगो सभाको म्यान्डेट लिन सभा आयोजना गरेका हौँ,’ नगरप्रमुख तिमल्सिनाले भने । 

 

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले मन्तव्य राखेका थिए ।