close

केन्द्र सरकार भन्छः खरका छाना हटे, गाउँमा भने दिनदिनै जल्छन् घर

आगलागीले खण्डहर बन्यो सुनार गाउँ 

केन्द्र सरकार भन्छः खरका छाना हटे, गाउँमा भने दिनदिनै जल्छन् घर

आगलागीले खण्डहर बन्यो सुनार गाउँ 

Trulli
ADVERTISEMENT

गुल्मी– बिहीबार दिउँसो गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीको भयकोट आरनथरकी उर्मिला सुनारको घरबाट एक्कासि आगो निस्कियो । घरमा आगो सल्किएको कसैले पत्तो पाएनन् । 


क्षणभरमा उर्मिलासहितका ५ घरगोठ खरानी बने । कुनै परिवारले आफ्नो शरीरको एकसरो कपडाबाहेक केही जोगाउन सकेनन् । आगोले उर्मिलासहित धनबहादुर, चन्द्रबहादुर, तुलबहादुर र जितबहादुर सुनारको घरगोठ जलेर नष्ट भएको छ ।


अहिले आगालागी पीडित परिवार छिमेकीको जीर्ण घरमा जोखिमपूर्ण रूपमा बसेर राहत र पुनस्र्थापनाको आश गरिरहेका छन् । गाउँमा अधिकांश घर खरका छन् । ती घरका कारण ठूलो क्षति सुनार परिवारले भोग्यो ।


तर, अहिले पनि छिमेकीको जीर्ण खरकै घरमै ओत लागेका छन् । ‘घरमा केही छैन सबै जलेर नष्ट भए । अर्कैको घरमा बसेका छौँ,’ उर्मिलाले भनिन्, ‘सरकारले छिटोभन्दा छिटो बस्ने बास बनाइदिए हुन्थ्यो ।’ 


गाउँमा मेलापात गरेर जोडेको सबै श्रीसम्पत्ति आँखै अगाडि खरानी भएको उनले सुनाइन् । स्थानीय देशान्त दर्लामीले खरका छाना विस्थापन अभियानमा गाउँपालिकाले समयमै ध्यान नदिएका कारण अहिलेको स्थिति आएको बताए । ‘खाने अन्न छैन । ओत्ने ठाउँ भएन,’ उनले भने, ‘विपन्न परिवारमा योभन्दा ठूलो वज्रपात के होला ।’


आगलागीबाट पीडित परिवारलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला विपद् व्यावस्थापन समितिको तर्फबाट घरमै पुगेर नगद, खाद्य सामग्री र लत्ता कपडा प्रदान गरेकी छन् । पीडित परिवार आफैं पीडामा हुने र राहतकै लागि दूरदराजबाट जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी आफैं राहत बोकेर घटना स्थल पुगेपछि स्थानीय खुसी भए । 


प्रजिअले जिल्ला प्रशासन कार्यालयसँगै नेपाल रेडक्रस सोसाइटी उपशाखा पुर्तिघाटको राहत सामग्री वितरण गरिन् । थप राहत र पुनस्र्थापनाको विषयमा ३ वटै तहका सरकार र गैरसरकारी संघ–संस्थासँग पनि समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।


‘पीडाले मात्रै आहत भएर पुग्दैन । सम्हालिएर शोकलाई शक्तिमा बदलौँ,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार निर्माण असम्भव छैन । सबै हातेमालो गर्नुपर्छ ।’ पहिलो दिन तत्काल उद्धारको काम गरेकाले अर्को दिन जिल्लाका विभिन्न निकायसँग समन्वय गरेर राहत लिएर आएको प्रजिअ शर्माले बताइन् ।


केही दिनअघि सोही गाउँकै २ वटा घरगोठ जलेर खरानी बने । आगलागी खरका छाना घर भएका कारण भएको हो । गाउँमा अधिकांश खरका घर छन् ।


विपन्न परिवार बढी भएकाले आफंैले जस्तापाताले घर छाउने उपाय उनीहरूसँग छैन । तर, स्थानीय तहको प्रमुख चुनावी नारा खरका छाना विस्थापनले कालीगण्डकी गाउँपालिकामा सुरुका वर्षमा प्राथमिकता पाएन । 


गुल्मी पश्चिमका स्थानीय तहले सबै घर खरका छानामुक्त गरिसकेको अवस्थामा यो अभियान कालीगण्डकीले भर्खरै सञ्चालन गरिरहेको छ । अर्बेनीका करिब २ सय लाभग्राहीमध्ये अहिलेसम्म २० घर मात्रै खरका छानामुक्त भएको वडाध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए । 


पछिल्लो ३ महिनामा मात्रै आगलागीका थुप्रै घटना भएका छन् । केही समयअघि आगलागीका कारण इस्मा गाउँपालिकाको वडा नम्बर ४ दोहली उदीनढुंगाका दुर्गाबहादुर घर्तीको घर २४ फागुनमा नष्ट भयो । सोही दिन आगलागीले मालिका गाउँपालिकाको वडा नम्बर ६ का कृष्णबहादुर अधिकारीको घर, २ गोठ र ६ वटा बोकाबाख्रा नष्ट भए ।


इस्माको वडा नम्बर ४ खग्रेटास्थित रामबहादुर बस्नेतका २ वटा बंगालो र गोठ आगोले जलेर नष्ट भए । गत १८ पुसमा रेसुंगा नगरपालिकाको वडा नम्बर ५ खाम्सेपानीका कृष्णबहादुर कुँवरको गोठमा आगलागी हुँदा एउटा भैँसीको पाडो, ७ वटा बाख्रा जले । 


त्यस्तै, गत १ माघमा आगलागीकै कारण मदाने गाउँपालिकाको वडा नम्बर ३ सिरसिरे पोखराका नरबहादुर थापाको गोठ र ५ वटा बाख्रा जलेर नष्ट भयो । २१ माघमा चन्द्रकोट गाउँपालिकाको वडा नम्बर २ का उमाकान्त खरेलको गोठ जलेर नष्ट भयो ।


विपद् कसैले चाहेर आउने होइन । अर्बेनी भयकोटका सुनार परिवारले आँखै अगाडि आफ्नो पौरखले बनाएको घर र श्रीसम्पत्ति गुमाए । उनीहरूको एउटै पिरलो छ, अर्कैको आश र छिमेकीकहाँ बास कहिलेसम्म ?