close

लुम्बिनी प्रदेश मुकामको रोक्का जग्गा आंशिक फुकुवा

लुम्बिनी प्रदेश मुकामको रोक्का जग्गा आंशिक फुकुवा

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने क्रममा रोक्का गरेको दाङ देउखुरी क्षेत्रको जग्गा रोक्कालाई आंशिक रूपमा फुकुवा गरेको छ ।

 

लामो समयसम्म जग्गा रोक्का राख्दा पारिवारिक अंशबन्डा, अदालती फैसला कार्यान्वयन, कारोबारका लागि धितो बन्धकजस्ता काम रोकिँदा स्थानीयले समस्या भएको गुनासो गरेपछि प्रदेश सरकारले आंशिक फुकुवाको निर्णय गरेको हो ।

 

प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेश मुकाम तोकिएको दाङको देउखुरी क्षेत्रमा बेचबिखनका लागि गरिने फुकुवालाई रोक्का कायम राख्दै पारिवारिक अंशबन्डा, बैंक कर्जा प्रयोजन र अदालती फैसला कार्यान्वयन प्रयोजनका लागि जग्गा रोक्का फुकुवा गरेको हो ।

 

बैठकपछि गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले बेचबिखनका लागि जग्गा फुकुवा नगरिएको बताए । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसअघि सरकारले तयार गरेको बिदाको क्यालेन्डरलाई संशोधन गरी केही सार्वजनिक बिदासमेत थपेको छ । 

 

यसअघि बिदाको क्यालेन्डरमा समावेश नगरिएको प्रदेश स्थापना दिवस, माघे संक्रान्तिको पछिल्लो दिन, मुस्लिम धर्मावलम्बीको बक्रइद तथा कृष्णाष्टमीमा पनि प्रदेशभर बिदा दिने निर्णय गरिएको छ ।

 

बैठकले स्थानीय स्तरमा महत्त्व राख्ने भुम्या पूजाका दिन रुकुम, रोल्पा, भगवती पूजाका दिन पाल्पा तथा अटवारी पर्वका दिन तराईका ६ जिल्लामा बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले मुस्लिम समूदायको रमजानका दिन समुदाय स्तरमा बिदा दिने निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिए ।