close

कर्णाली करिडोरः १२२ किलोमिटर सडक निर्माण सकियो 

कर्णाली करिडोरः १२२ किलोमिटर सडक निर्माण सकियो 

Trulli
ADVERTISEMENT

जुम्ला– देशकै गौरवको आयोजना कर्णाली करिडोरको १२२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । कालीकोटको हुल्म हुँदै हुम्लाको सल्लीसल्लासम्मको १२२ किमि सडक निर्माण सकिएको हो ।

 

माथिल्लो कर्णालीलगायत सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लालाई चीनको उत्तरी नाकासँग जोडेर व्यापारिक सम्बन्ध उचाइमा पु¥याउने लक्ष्यका साथ निर्माणाधीन कर्णाली करिडोर निर्माणको परिकल्पना गरिएको छ ।

 

प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले गत साता कर्णाली करिडोरको प्रगतिबारे स्थलगत अवलोकन भ्रमण गरेका थिए । करिडोर निर्माण गतिलाई हेर्दा दशकौँदेखिको कर्णालीबासीको सडक सपना अब केही महिनाभित्रै पूरा हुने थपलियाले बताए ।

 

करिडोरको १२२ किमि सडकको स्थलगत अनुगमन गरेका इन्जिनियर थपलियाले कर्णाली करिडोर निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले मुलुकको पूर्वाधार विकासलाई चारैतिरबाट गति दिन अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएकाले कर्णाली करिडोर निर्माणपछि कर्णालीमा विकासको आयाम थपिएको उनको भनाइ छ ।

 

नेपाली सेनाले कडा चट्टान फोरेर जोखिम मोल्दै १२२ किमि सडक निर्माण सम्पन्न गरेकामा विकास विज्ञ थपलियाले सेनाको प्रशंसा गरे । ‘अब छिट्टै चीनसँग व्यापारिक सम्बन्ध बढ्नेछ । कर्णालीको आर्थिक विकासले गति दिनेछ भने चीनबाट कर्णालीले प्रत्यक्ष लाभ लिन सक्नेछ,’ थपलियाले भने ।

 

विकास विज्ञ थपलियाले कर्णाली करिडोरसँगै कर्णाली राजमार्ग, नाग्म– गमगढी सडकको समेत निरीक्षण गरेका छन् । सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले कर्णालीको पूर्वाधार विकासमा प्रधानमन्त्रीका विकास विज्ञको विशेष चासो रहेको बताए । 

 

उनले भने, ‘पहिलो पटक करिडोरको १२२ किमि सडकको उच्चस्तरीय स्थलगत अनुगमन भएको छ । अब हुम्ला जोड्न करिब १६ किमि मात्रै बाँकी छ । करिडोरको दु्रत विकासले समृद्धिको आशा पलाएको छ ।’

 

जुम्ला सदरमुकाममा इतिहासमै पहिलो पटक १० मिटर चौडा सडक कालोपत्रे भएकामा समेत प्रधानमन्त्रीका विकास विज्ञले खुसी व्यक्त गरे । कर्णाली राजमार्गको स्तर वृद्धि तथा नाग्म–गमगढी सडकको कालोपत्रेका लागि विकास विज्ञ थपलियाले चासो दिएको भण्डारीले बताए ।

 

भण्डारीले भने, ‘अस्थिर राजनीति र लगानी अभावले लक्ष्यअनुसार निर्माण नभएको करिडोरको सेनाले जिम्मा लिँदा गति लिएको थियो । जोखिम मोल्दै कडा चट्टान फोरेर सेनाले कर्णालीलाई चीनसँग जोड्न दिएको योगदान सराहनीय छ ।’

 

राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्लासहितका आसपास जिल्लाका करिब ४० प्रतिशत जनता यो करिडोरबाट लाभान्वित हुनेछन् ।

 

प्रधानमन्त्रीका विकास विज्ञ थपलियाको भ्रमणले कर्णालीको पूर्वाधार विकासमा उल्लेखनीय सुधार हुने आशा यस क्षेत्रका नागरिकको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘विकास विज्ञको भ्रमणले कर्णालीको पूर्वाधार विकासले गति लिने आशा छ । कर्णालीका दुर्गम बस्तीलाई सडकसँग जोड्न संघीय सरकारले पर्याप्त लगानी गर्नुपर्छ ।’

 

बाह्य तथा आन्तरिक लगानीका कारण कर्णालीका दर्जनौँ योजना अलपत्र परेकाले लगानी जुटाउन संघ र प्रदेश सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ । कर्णाली करिडोरको विकासले हुम्लाको सर्केघाट, अदानचुली, ताजाकोट गाउँपालिका बाजुराको हिमाली, जगन्नाथ गाउँपालिका, बूढीनन्दा नगरपालिका, कालीकोटको पचलझरना, सान्नित्रिवेणी, नरहरिनाथ, कालिका गाउँपालिकासहित रासकोटका दुर्गम बस्ती सडकसँग जोडिनेछन् । 

 

विकास विज्ञ थपलियाले गत साता कर्णाली प्रदेशअन्तर्गतका ९ जिल्लाको पूर्वाधार विकासको भ्रमण अवलोकन गरेका थिए ।