close

डोके व्यापारले धानेको जीवन

दिनभरि व्यापार गरेर आर्जन गरेको रकमले बिहान–बेलुकाको छाक टानुपर्ने बाध्यता 

डोके व्यापारले धानेको जीवन

दिनभरि व्यापार गरेर आर्जन गरेको रकमले बिहान–बेलुकाको छाक टानुपर्ने बाध्यता 

Trulli
ADVERTISEMENT

सुर्खेत– दिउँसोको उखरमाउलो गर्मीसँगै प्रत्येक दिन कालीकोटकी अस्मिता कार्कीको दैनिकी सुरु हुन्छ । 

 

उमेरले ३५ वर्ष पुगेकी अस्मिता पिठ्युँमा ठूलो डोको बोकेर सुर्खेतको पिपिरादेखि बांगेसिमलसम्म हिँडेरै पुग्छिन् । फलफूल सिजनमा फलफूल र अन्य बेला वस्तु पिठ्युँमै बोकेर विभिन्न चौर र घरदैलो चहार्छिन् । 

 

२ वर्षदेखि डोकोमा सुन्तला बेच्दै आएकी कार्कीले यसको आम्दानीले २ छोराछोरीलाई पढाउँदै आएकी छन् । ‘दिनभरि सुर्खेत भ्यालीभरि घुम्छौँ र साँझ घर फर्किने बेला आफूलाई चाहिने सामग्री किन्छौँ’, कार्की सुनाउँछिन् ।

 

फुटपाथमै बसेर भए पनि मिहिनेत गरी जीवन चलाउँदा पनि नगरपालिका लखेट्ने एकै ठाउँ बसेर बेच्न नदिएको उनको गुनासो छ । पहिले सडक तथा विभिन्न विकास निर्माणका काममा मजदुरी गर्दै आए पनि घरपरिवार चलाउन र जीवन धान्न हम्मे भएपछि डोके व्यापार रोजेको उनले बताइन् ।

 

कार्की एउटा प्रतिनिधि पात्र मात्र हुन् । डोके व्यापार गरेर जीविका चलाउने सयाँै जनाले अहिले फुटपाथ र खुला चौरलाई आप्mनो आम्दानीको स्रोत बनाउँदै आएका छन् । 

 

कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै गाउँबाट सहर झर्नेको संख्या बढेपछि वीरेन्द्रनगरमा डोको बाकेरै फलफूल बेचेर जीविका चलाउनेको संख्या दिनहुँ बढ्दो छ । 

 

दैलेखको ठाटीकाँध गाउँपालिकाकी ४५ वर्षीय रमा विकले पनि वीरेन्द्रनगरमा डोकोमा सुन्तला बेच्न थालेको ५ वर्ष भयो । २०६८ मा भारतमा मजदुरी गर्न गएका श्रीमान्को सडकमा काम गर्दागर्दै माथिबाट आएको ढुंगाले ज्यान लियो । त्यसपछि रमाका दुःखका दिन सुरु भए ।

 

रमा भन्छिन्, ‘श्रीमान्को मृत्युपछि घरमा बसौँ खाने गास थिएन । कहाँ जाऊँ के गरौँ भनेर भौतारिँदा पटक–पटक आत्महत्याको कोसिस पनि गरेँ । तर, ४ वटा छोराछोरीको अनुहार देखेपछि मर्न सकिनँ ।’ 

 

आफू मरेर छोराछोरीलाई दुःख दिनुभन्दा बरु दिनरात मिहिनेत गरेर छोराछोरी हुर्काउँछु भन्ने साहस पलाएपछि डोके व्यापार रोजेको उनले बताइन् । 

 

रमाका २ छोरा र २ छोरी छन् । एउटा छोरा र अर्की छोरीले गाउँमै हुँदा बिहे गरेका हुन् भने अहिले २ छोराछोरीको शिक्षादीक्षाकै लागि दिनरात डोको बोक्दै वीरेन्द्रनगरका चोक–चोक र गल्लीगल्ली धाउँछिन् ।

 

यस्तै पीडा सहेर जाजरकोटबाट सुर्खेत झरेकी ३० वर्षीया कल्पना घर्तीका पनि दुःखका पहाड छन् । उनका श्रीमान्को मृत्यु भएको ३ वर्ष बित्यो । श्रीमान्काे मृत्युपछि घरपरिवारबाट अपहेलित कल्पनाले अहिले सुर्खेतमा आएर सुन्तला, सागसब्जी बेच्न थालेको २ वर्ष भयो । 

 

‘हामीजस्ता वेदना भएकालाई कसैले हेर्दैन । सरकारी राहत पनि टाठाबाठाले नै खान्छन्’, उनले भनिन्, ‘पहिले मंगलगढी चोक छेउमै बसेर फलफूल बेच्दा सजिलोे थियो । नगरपालिकाले हटाएपछि अहिले विभिन्न ठाउँ चाहर्नु परिरहेको छ ।’