close

गुल्मीकाे इस्मामा जडीबुटी उद्यान, हुर्किदै छन् २८ प्रजातिका बहुमूल्य बिरुवा

गुल्मीकाे इस्मामा जडीबुटी उद्यान, हुर्किदै छन् २८ प्रजातिका बहुमूल्य बिरुवा

Trulli
ADVERTISEMENT

गुल्मी - प्रदेश ५ मै पहिलोपटक गुल्मीको इस्मा जडीबुटी उद्यानलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि सञ्चालनमा ल्याएको छ । 


इस्मा गाउँपालिका–५ इस्मा रजस्थलको राधाकृष्ण टोलमा जडीबुटी उद्यान निर्माण भएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालय र डिभिजन वन कार्यालयको १ करोड लागतमा जडीबुटी उद्यान निर्माण गरिएको हो ।


यो उद्यानले मध्यपहाडी क्षेत्रमा पाइने जडीबुटी, गैरकाष्ठ वन पैदावारको प्रदर्शन, तिनको सूचना प्रवाह एवं निजी क्षेत्रसँगको सहकार्यमा व्यावसायिकीकरण गर्न र जडीबुटी पर्यटनमा सहयोग पुर्‍याउने प्रदेश सरकारको अपेक्षा छ । 


बहुमूल्य जडीबुटीको व्यावसायिक उत्पादनले युवाहरूलाई स्वदेशमै अर्थोपार्जन गर्न टेवा पु¥याउने उद्देश्यले जडीबुटी उद्यान सञ्चालनमा ल्याइएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । 


सहायक वन अधिकृत मदन ढुंगानाका अनुसार उद्यान देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनको २.५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अहिले उद्यानमा अगरउड, रुद्राक्ष, श्रीखण्ड, एभोकाडो, टिमुरलगायत २८ प्रजातिका बहुमूल्य बिरुवा रोपिएको छ । उद्यानमा रोपिएका बिरुवा एक वर्षमै राम्रोसँग हुर्किएका छन् । 


‘वैदेशिक रोजगार तत्काल आर्थिक गर्जो टार्ने उपाय भए पनि यसले समाजमा पारेको प्रभाव भने डरलाग्दो छ । स्थानीय जंगल अहिले वनमाराले भरिएका छन् । व्यक्तिगत जग्गा पनि बाँभैm छन् । यस उद्यानले स्थानीयलाई रोजगारी दिने अपेक्षा छ’,  ढुंगानाले भने ।


खाली जग्गाको सदुपयोग गरेर बहुमूल्य जडीबुटीको व्यावसायिक उत्पादनका लागि यो उद्यान कोशेढुंगा बन्ने उपेक्षा स्थानीयको छ । उद्यान नजिकका खाली जग्गामा किसानलाई अनुदानमा तेजपात, टिमुरलगायतका बिरुवा वितरण गरिएको हो । स्थानीयले जस्तोसुकै सहयोग गर्न तयार भएकाले तीनै तहका सरकारको समन्वयमा उद्यानलाई जडीबुटीको अनुसन्धान केन्द्र रुपमा विकास गर्नुपर्ने देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनका अध्यक्ष खडानन्द भण्डारी बताउँछन् । 


उद्यानको लागि आव ०७५/७६ मा प्रदेशबाट १ करोड विनियोजन भएको थियो । उक्त रकमबाट तारबार, सूचना केन्द्र, मन्दिर र ट्यांकीलगायत संरचना निर्माण भएका छन् ।


त्यस्तै, आव ०७६/७७ मा विनियोजन भएको १५ लाखबाट नर्सरी ब्याड निर्माण, ३ ब्याडमा ट्रस निर्माण, लप्सी, तेजपातका १३ हजार बिरुवा खरिद र उत्पादन गरेर किसानलाई वितरण गरिएको सार्कीपाटा सामुदायिक वनका कोषाध्यक्ष नारायण पैयानी बताउँछन् । 


अहिले प्रदेश सरकारले कुनै पनि रकम निकासा गरेको छैन । प्रदेशकै पहिलो जडीबुटी उद्यानको गत वर्ष उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गरेका थिए । तर, रातो किताबमा भने उद्यानबारे केही उल्लेख छैन ।


युवा शक्तिको विदेशी मोह घटाउन गुल्मीका स्थानीय तहले कृषि र पशुका विभिन्न योजना निर्माण गरिरहेका छन् । अहिले कोरोना संक्रमणले कतिपय युवा गाउँ फर्केर आगामी यात्रा कसरी तय गर्ने भन्ने विषयमा अन्योलमै छन् । 


तर, गाउँघरमा वनमाराले ढाकेका कैयन जमिन खाली छन् । बहुमूल्य प्रजातिका रुखको व्यावसायिक उत्पादनमा स्थानीय तहले युवालाई प्रोत्साहित गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट दाबी गर्छन् ।