close

मन्त्रीले देलिन् त कोदोको लोकल रक्सीलाई ब्रान्ड ? 

मन्त्रीले देलिन् त कोदोको लोकल रक्सीलाई ब्रान्ड ? 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङका प्रदेशसभा सांसद उषाकला राई प्रदेश१ को सामाजिक बिकास मन्त्री नियुक्त भएकी छन् । खोटाङबाट समानुपातिक सांसद बनेकी राई शुक्रबार प्रदेशको सामाजिक बिकास मन्त्री नियुक्त भएकी हुन् । 


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी उषाकलाले खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास बनाएकी छन् । यसअघि संविधानसभा सदस्यको भूमिका निर्वाह गरिसकेकी राई खोटाङबाट प्रदेशको पहिलो मन्त्री पनि बनेकी छन् । 

 

खोटाङले झण्डै १९ वर्षपछि फुल मन्त्री पाएको हो । मन्त्रीको सूची हेर्ने हो भने २०५८ सालमा अशोक राई स्वास्थ्य मन्त्री बने यता खोटाङबाट कोही पनि मन्त्री बन्न सकेका थिएनन् । 


मन्त्री राई कोदोको लोकल रक्सीको ब्राण्ड बनाउने अभियानका अभियन्ता हुन् । सांसदको भूमिकामा रहेको बेला लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गरेर औद्योगिकीकरण गर्नुपर्ने आवाज उठाउँदै आएकी राई नै मन्त्री बनेपछि ‘व्यान्ड भर्सेस ब्रान्ड’ले साकार रुप लिने कतिपयको अपेक्षा छ । 


मन्त्री राईले पदभार ग्रहण लगत्तै कोदोको लोकल रक्सीमाथिको प्रतिबन्ध हटाएर ब्राण्ड बनाउने नारा प्रदेश १ बाट लागू गर्न कोसिस हुने विश्वास व्यक्त गरेकी छन् । 


‘निष्ठापूर्वक काम गर्ने र जनताको नजरबाट गिर्ने काम म बाट नहुने कुरामा विश्वास व्यक्त गर्दछु,’ मन्त्री राईले फेसबुकमा लेखेकी छन्, ‘ब्यान्ड भर्सेस ब्रान्ड’को नारा प्रदेश१ बाट लागु गर्ने कोसिस हुने कुरामा विश्वास व्यक्त गर्दछु ।’ सपथमा उनका श्रीमान्  पूर्वकानून मन्त्री शेरबहादुर तामाङ, खोटाङका एमाले नेता लगायतको उपस्थिति थियो । 

 

मन्त्रीमा खोटाङे इतिहास 

 

खोटाङका डिल्लीसेर राई पहिलो सहायक मन्त्री हुन् । पञ्चायत कालमा उनी वन, भौतिक पुर्वाधार तथा यातायात, रक्षा हुँदै गृह–सहायक मन्त्री बनेका थिए । पञ्चायत कालमै केदार राई शिक्षा सहायक मन्त्री बनेका थिए । 


बहुदल आएपछि अशोक राई २०५१ सालमा निर्माण तथा यातायात राज्यमन्त्री, २०५६ सालमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री र २०५८ सालमा स्वास्थ्य मन्त्री बनेका थिए । 


यस्तै, २०५६ सालमा सर्वधन राई उद्योग सहायक मन्त्री र २०५८ सालमा पर्यटन राज्यमन्त्री भएका थिए । २०५७ सालमा शिवकुमार बस्नेत वन राज्यमन्त्री बनेका थिए । सर्वधन पर्यटन राज्यमन्त्री बने यता खोटाङका केही पनि राज्यमन्त्री वा मन्त्री बन्न सकेका थिएनन् ।