close

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक घरबास

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक घरबास

Trulli
ADVERTISEMENT

मुगु– पर्यटकीय सम्भावना बोकेको मुगु रैथाने अर्गानिक बालीको भण्डार भनेर चिनिन्छ । मुगुमा दर्जनाैँ पर्यटकीय स्थल छन् भने रैथाने बालीको पनि उत्तिकै सम्भावना छ ।

 

मुगु आउने जोसुकै पर्यटकले एक पटक यहाँका पर्यटन स्थलको अवलोकन गर्ने र अर्गानिक खाना रुचाउने गर्छन् । पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर यहाँ आउने पर्यटकको संख्या बढी छ ।

 

तर, मुगुमा राराजस्तै दर्जनाैँ पर्यटक स्थल छन् । पर्यटकको थप आकर्षण बढाउन मुगुमा सामुदायिक हामेस्टे पनि सञ्चालनमा छन् । अहिले यी होमस्टे पर्यटकको पर्खाइमा छन् । 

 

एउटा नगरपालिकासहित ३ वटा गाउँपालिका गरी ४ स्थानीय तह रहेको मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा सबैभन्दा बढी पर्यटन क्षेत्र छन् । यो पालिकाको वडा नम्बर ८ मा रहेको माग्री गाउँमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा छ । तर, पर्यटक नआउँदा होमस्टे व्यवसायी मारमा छन् ।

 

व्यवसाय चौपट 

 

पछिल्लो समय सामुदायिक होमस्टेमा पर्यटक नआउँदा सुनसान अवस्थामा पुगेका छन् । माग्री गाउँमा केही वर्ष पहिला सञ्चालन गरिएका २ दर्जन बढी सामुदायिक होमस्टे पर्यटक नआउँदा व्यवसाय चौपट भएको छ ।  

 

विगत वर्षमा होमस्टेमा ओइरो लाग्ने पर्यटक नआएपछि अहिले सुनसान छन् । पहिला रारा घुम्न आउने पर्यटक मुगुम कामारोङमा रहेका कोइकी हिमाल, छायानाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर र यहाँका लामा समुदायको रीतिरिवाज, चालचलन, संस्कृतिलगायतको अवलोकन गरेर रमाउने गर्थे । 

 

वन्यजन्तु, वनस्पति आदिको अवलोकन गर्न आउनेलाई बास बस्न सकस परेपछि माग्री गाउँमा बनाइएका सामुदायिक होमस्टे पर्यटक नआउँदा बन्द हुने अवस्थामा पुगेपछि व्यवसाय चौपट भएको सामुदायिक होमस्टे सञ्चालक पेमाकुन्साङ तामाङले बताइन् ।

 

कोरोनाले खायो होमस्टेलाई 


कोरोना महामारी नियन्त्रण गर्न सरकारले सरकारले गरेको लकडाउनका कारण मुगुका होमस्टे थला परेका छन् । 


लाखौँ रुपैयाँ लगानी गरेर सञ्चालनमा आएका होमस्टे पर्यटक नआएपछि सुनसान बनेका हुन् । ऋण गरेर होमस्टे सञ्चालन गरेकाहरू पर्यटन नआएपछि लगानी कसरी उठाउने भन्ने पिरलोमा परेको तामाङको गुनासो छ । 

 

उनले भनिन्, ‘ऋण लिएको सावाँ रकम कहिले तिर्ने भन्ने पिरलो छ । कमाइ पनि छैन । राज्यले हामीलाई सेवा–सुविधा नदिएकाले समुदायमा होमस्टे सञ्चालन गर्न मुस्किल भयो ।’ 

 

रैथाने बाली प्राथमिकतामा 

 

मुगुका होमस्टेमा बास बस्न आउनेलाई आरामदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाइएका ढिँडो खुवाउने र स्थानीय संस्कृति, रीतिरिवाजसहित गुम्बा, मठमन्दिर, हिमाल, वन्यजन्तुको अवलोकान गराउने गरिएको होमस्टे सञ्चालक सुनाउँछन् ।