close

रूपन्देहीका सीमामा थप सतर्कता

हेल्थ डेस्क खोलेकै दिन भेटियो मजदुरमा कोरोना संक्रमण

रूपन्देहीका सीमामा थप सतर्कता

हेल्थ डेस्क खोलेकै दिन भेटियो मजदुरमा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

रूपन्देही– जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले छिमेकी भारतमा फैलिएको कोरोना संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सतर्कता अपनाउने निर्णय गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा बसेको डिसिसिएमसीको बैठकले सीमामा आवागमन अव्यवस्थित भएको स्वीकार्दै अबदेखि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

 

बेलहिया नाका हुँदै भारतबाट आउने नागरिकलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरी तिनको अभिलेख राखिने डिसिसिएमसी संयोजक एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

 

स्वास्थ्य चेकजाँच गर्दा कोही शंकास्पद भए सीमामै उनीहरूको स्वाब लिई एन्टिजेन टेस्ट गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । परीक्षणबाट पोजेटिभ देखिए अस्पताल, आइसोलेसन वा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने निर्णय भएको घिमिरेले बताए ।

 

डिसिसिएमसी बैठकले जिल्लाका सबै पालिकालाई क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार राख्न निर्देशन दिएको छ । बैठकले भीडभाड, भेला, जात्रा पनि रोक्ने निर्णय गरेको छ ।

 

हाल सञ्चालनमा रहेका हाटबजार, विद्यालयलगायत क्षेत्रमा प्रभाव नपर्ने गरी अन्य सभा–सम्मेलन र भीडभाड हुने कार्यक्रम नगर्न बैठकले अनुरोध गरेको छ । 

 

सञ्चालनमा रहेका सार्वजनिक यातायात, हाटबजार, विद्यालयलगायतमा कडाइका साथ स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न लगाउन बैठकले सुरक्षा निकायलाई निर्देशन दिएको छ । भीडभाड हुने क्षेत्रमा मास्क, स्यानिटाइजर र सामाजिक दूरीको पालना गर्न निर्देश गरिएको छ । 


प्रजिअ घिमिरेको संयोजकत्वमा बसेको बैठकमा रूपन्देहीका पालिका प्रमुख तथा उप–प्रमुख, सुरक्षा निकायका प्रमुख, व्यावसायिक संघ–संस्था, होटल एसोसिएसनका प्रतिनिधिको उपस्थिति थियो । 

 

भेलामा उनीहरूले लकडाउन गर्नै नहुने सुझाव दिए । भारतमा कोभिड संक्रमण फैलिँदै गएपछि सीमामा सतर्कता अपनाउँदै आर्थिक क्रियाकलाप सञ्चालन हुनुपर्ने राय राखेपछि डिसिसिएमसीले सोहीअनुसारको निर्णय गरेको हो ।

 

तत्काल जिल्लामा कुनै अप्रिय घटना नभएकाले हाललाई सतर्कता बढाउने निर्णय भएको छ । सीमापारि बजार गर्न जानेको संख्या उत्तिकै रहेको हुँदा यसलाई पूर्ण रूपमा रोक्न बैठकले सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।

 

यस्तै, सीमापारिबाट नेपालमा औषधी, घर फर्किने नेपालीलगायतको अभिलेख राखेर सहज प्रवेश दिइनेछ भने नेपाल भ्रमणमा आउने पर्यटकलाई डिसिसिएमसीको बैठकले पूर्ण रोक लगाएको छ ।

 

सीमामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउँदै गरेका १ जना कामदारमा कोरोना पोजेटिभ देखिएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक करिडोरमा रहेको उद्योगमा काम गर्न आइरहेका राजस्थानका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

 

स्वाबको माध्यमबाट परीक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको डा. गिरीले बताए । आधा घन्टामै नतिजाआउने यो परीक्षणबाट पोजेटिभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आइसोलेसनमा राख्ने गरी जिम्मा दिइने डा. गिरीको भनाइ छ ।