close

बेनी–अर्थुंगे सडक धमाधम कालोपत्रे

बेनी–अर्थुंगे सडक धमाधम कालोपत्रे

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको बेनी–अर्थुंगे सडक कालोपत्रे सुरु भएको छ । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् ।

 

पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लिएको श्रमजीवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क क्षेत्रमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । 


गत पुसमा ५० लाख ९८ हजार ९४८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कुरीलाखर्कमा १६० मिटर कालोपत्रे गरिसकेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाले महारानी थानमा थप १६० मिटर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । 

 


प्रिमिक्स प्रविधिको कालोपत्रे गर्ने लागिएको हो । ५.५ मिटरदेखि ६ मिटर चौडाइमा कालोपत्रे गरिएको छ । आगामी असारसम्म ठेक्काको म्याद भए पनि चैतभित्रै काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको बानियाले बताए । 

 

बेनी नगरपालिकामार्फत ठेक्का लिएको खुसीहोम बिल्डर्सले आँपरुख, अर्थुंगेस्थित नेपाली सेनाको ब्यारेकमुनि र देउराली खण्डमा कालोपत्रे गर्न बेस बिछ्याउन थालेको छ । विभिन्न ठाउँमा २०० मिटर सडक ढलान गरिसकेको छ । ७०० मिटर नाली बनाएर सोही बराबरको दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्रे गर्न लागेको हो । 


पूर्वाधार विकास योजनाको काम सकिएपछि त्यही उपकरण र मजदुर परिचालन गरेर नगरपालिकाको ठेक्काको पिच गर्ने खुसी होम बिल्डर्सका सञ्चालक मनोज कार्कीले जानकारी दिए । 

 

आँपरुखदेखि अर्थुंगेको पुलाचौर जोड्ने सडकमा नाली बनाउन, ढलान गर्न र कालोपत्रे गर्न गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदुर र निर्माण सामग्री अभावका कारण प्रभावित भएको थियो । 


गत वर्ष अधुरो बनेको यो आयोजनाको चैतसम्म म्याद थपेर चालू आर्थिक वर्षमा निरन्तरता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । १ करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । 


बेनी नगरपालिकाको वडा नम्बर ४ रघुगंगा गाउँपालिकाको २ वटा वडाका बासिन्दाले सदरमुकाम बेनी आउजाउमा प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न नगरपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको छ । पूर्वाधार विकास कार्यालयले पनि विभिन्न खण्डमा स्तरोन्नति र ढलानको काम गरेको छ ।