close

खोटाङमा पेचिलो बन्दै छ एमाले विवाद

खोटाङमा पेचिलो बन्दै छ एमाले विवाद

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङमा नेकपा एमालेभित्रको अन्तरद्वन्द्व थप चुलिँदै गएको छ । एक पक्षले अर्को पक्षलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दै जाँदा एमालेभित्रको अन्तरद्वन्द्व पेचिलो बनेको हो ।

 

सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि गत २५ फागुनमा एमालेका तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई एक पक्षले जिल्ला अध्यक्षमा मनोनयन गरेको केही समयपछि शुक्रबार तत्कालीन अध्यक्ष बबी चाम्लिङको अध्यक्षतामा अर्को पक्षको बैठक बसेको छ । 

 

एमाले ब्युँतिएको अवस्थामा हालसम्म पदबाट राजीनामा नदिएको र कुनै पनि जिल्ला अधिवेशन नभएकाले आधिकारिक अध्यक्ष आफैं रहेको दावी गर्दै आएका चाम्लिङको अध्यक्षतामा बसेको बैठकले ६७ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको छ ।

 

जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकले एमाले जिल्ला कमिटी उपाध्यक्षमा बम खत्री, सचिवमा जलसेर राई, उप–सचिवमा अकिल राई र आर्थिक विभाग प्रमुखमा राजनप्रसाद आचार्यलाई चयन गरेको छ । 

 

एकले अर्को समूहलाई बेवास्ता गर्दै जाँदा जिल्लामा एमालेभित्र अघोषित रूपमा समानान्तर कमिटीको अभ्यास देखिन थालेको छ । शुक्रबार कुनै समूहको बैठक नभई सर्वोच्च अदालतले ब्युँताइदिएको एमाले जिल्ला कमिटीको पूर्ण बैठक बसेको चाम्लिङले दाबी गरे ।


‘यो एमाले जिल्ला कमिटीको बैठक हो । २०७२ मा निर्वाचित अध्यक्ष मै हुँ । मेरो अध्यक्षतामा बसेको बैठक कसरी समूहको हुन्छ ?,’ चाम्लिङले भने, ‘२३ फागुनको सर्वोच्चको आदेशले मलाई स्वतः अध्यक्षमा पुनस्र्थापित गरिदिएको छ । केपी ओली एमाले केन्द्रिय कमिटीको अध्यक्ष भएजस्तै म जिल्ला कमिटी अध्यक्ष हुँ ।’ 

 

चाम्लिङको अध्यक्षतामा दिक्तेलमा बैठक बसिरहँदा अर्का अध्यक्ष दंगाललगायत नेता सामाजिक विकासमन्त्री उषाकला राईको सपथमा विराटनगर पुगेका थिए । चाम्लिङ नेपाल–खनाल र दंगाल ओली निकटका हुन् । 

 

सर्वोच्चले साविकको एमाले र माओवादी केन्द्रलाई ब्यँुताइदिएपछि २५ फागुनमा पुष्पलाल स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेलगत्तै एमाले अध्यक्षमा दंगाललाई चयन गरिएको सार्वजनिक भएको थियो ।

 

तर, त्यसको भोलिपल्ट चाम्लिङले फेसबुकमार्फत एमालेको आधिकारिक अध्यक्ष आफू भएको प्रस्टीकरण दिएका थिए । त्यसयता सामाजिक सञ्जालमा कार्यकर्तादेखि नेतासम्म गुटगत पक्षपोषण र टीकाटिप्पणीमा सक्रिय देखिएका छन् । 

 

साविक एमालेको १३ वैशाख २०७२ मा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट चाम्लिङ अध्यक्ष र दंगाल उपाध्यक्षमा चुनिएका थिए । सर्वोच्चले एमालेलाई ब्यँुताएकाले पार्टीको तत्कालीन अध्यक्ष स्वतः आफू कायम रहेको चाम्लिङको दाबी छ । 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कमिटि विस्तारका क्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालीन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख तथा प्रदेश कमिटी सदस्य रहेको कारण देखाउँदै सचिवबाट राजीनामा दिएर दंगाललाई अघि सारिएको थियो । आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसके आगामी निर्वाचनमा एमालेले क्षति बेहोर्ने निश्चित छ ।