close

देवदहमा ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण

देवदहमा ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको देवदह नगरपालिकाले ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर २ को श्रीराम टोलमा रहेका ११ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

 

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँ ब्लक मानिँदै आएको थियो । ब्लकभित्र पर्ने जग्गामा वर्षाैंदेखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयलाई लालपुर्जा वितरण गरिएको देवदह नगरप्रमुख हिराबहादुर खत्रीले बताए ।

 

उनले भने, ‘घरबास नभएका, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं । जग्गाको मालिक बनाउँछौँ ।’

 

अहिले वडा नम्बर २ को श्रीराम टोलका ११ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको उनले जानकारी दिए । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकालाई नगरपालिकाले नापी विभाग रूपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।

 

वडाका ब्लकमा रहेका लालपुर्जा वितरणलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगर उपाध्यक्ष विद्यालक्ष्मी गुरुङले बताइन । उनले भनिन्, ‘नगरबासीको चाहनाअनुसार काम गर्छाैं ।’

 

जिल्लामा १३८३ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको जिल्ला नापी कार्यलय रूपन्देहीका प्रमुख अजित कुँवरले बताए । जग्गाधनी पुर्जा पाएपछि वडा नम्बर २ का भीमलाल पाण्डे खुसी छन् । ‘पुस्तौँदेखि बसेको ठाउँको पुर्जा पाएँ । खुसी लागेको छ ।’ नगरपालिकाले नगरभरका जग्गा पहिचान गरी लगत संकलन तीव्र बनाएको छ ।

 

भूमि व्यवस्थित गर्न तथ्याक संकलनको काम अघि बढेको र भोगचलन गरेको जग्गा नक्सापासलगायत समस्या समाधान गर्न नगरले वडा नम्बर ९ र १० मा नापी टोली खटाएर काम सुुरु गरेको नगरप्रमुख खत्रीले बताए ।

 

नापी कार्यालय रूपन्देहीका प्रमुख कुँवरले जिल्लाभर २ हजार बढीलाई जग्गाधनी पुर्जा वितरण गर्न बाँकी रहेको जानकारी दिए । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष धर्मगत पाण्डे, सदस्य पूर्णकला खरेल, सदस्य टेकबहादुर पुन, तिलक गुरुङ, माया विक, नापी टोली प्रमुख, नगरपालिका इन्जिनियरलगायत सहभागी थिए ।