close

सिंजाको कनकासुन्दरीमा ३३० बालबालिकाको पोषण स्क्रिनिङ

सिंजाको कनकासुन्दरीमा ३३० बालबालिकाको पोषण स्क्रिनिङ

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिकामा शिविर सञ्चालन गरी ३३० जना बालबालिकाको पोषण स्क्रिनिङ गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोषण पुनस्र्थापनागृह र हाँडसिंजा स्वास्थ्य चौकीको पोषण पुनस्र्थापनागृहको समन्वयमा पोषण स्क्रिनिङ शिविर शुक्रबार सञ्चालन गरिएको हो । 

 

हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार ३३० जना बालबालिकाको पोषण स्क्रिनिङ गरिएको हो । पोषण स्क्रिनिङ गरिएका बालबालिकामध्ये ३५ जना कुपोषित बालबालिका स्क्रिनिङ भएका हुन् । 

 

उनले भने, ‘१५ जना बालबालिकालाई हाँडसिंजा स्वास्थ्य चौकीको पोषणगृहमा राखेर उपचार गरिनेछ । २० जना बालबालिकालाई सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पोषण पुनस्र्थापनागृहमा रिफर गरिएको छ ।’ 

 

अहिले पनि स्वास्थ्य चौकीको पोषणगृहमा १२ जनाको उपचार भइरहेको उनले बताए । मध्यम कुपोषित २० जना बालबालिकालाई यही केन्द्रबाटै उपचारपछि घर पठाइएको उनले जानकारी दिए ।

 

‘हाल दिउँसो मात्रै पोषणगृह सञ्चालनमा ल्याएका छौँ,’ उनले भने, ‘प्रतिष्ठानको पोषण पुनस्र्थापनागृहमा रिफर गरिएका बालबालिकाका अभिभावक सोमबार पुनः सम्पर्कमा आउनेछन् ।’ 

 

यहाँदेखि प्रतिष्ठानसम्म लैजान यातायात भाडा व्यवस्थापनका लागि गाउँपालिकासँग समन्वय गर्ने तयारी गरेको उनले बताए । सोमबार अभिभावकको छलफलपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनस्र्थापनागृहमा पठाइनेछ । 

 

प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनस्र्थापनागृह सञ्चलानमा ल्याएर निःशुल्क सेवा दिँदै आएको छ । पोषण पुनस्र्थापनागृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिकामध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाइएको छ । 

 

२० दिनसम्म पोषण पुनस्र्थापनागृहमा भर्ना गरी पोषणयुक्त बनाएर घरमा पुनस्र्थापना गरिएको पोषण पुनस्र्थापनागृहका संयोजक निशान्त लामाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिमका ३ जिल्लाका कुपोषित बालबालिकालाई पोषण पुनस्र्थापनागृहमा भर्ना गरी पोषणयुक्त बनाउन आग्रह गरिएको छ ।’ 

 

कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालीकोट र मुगु) जिल्लाका शीघ्र कुपोषित बालबालिका ७ दशमलव ५ प्रतिशत, कम तौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमल ५ प्रतिशत होचा (पुड्का) रहेको तथ्यांक छ ।