close

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति भएको छ । 

 

मालिका गाउँपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र निक साइमन इन्स्टिच्युटको सहयोगमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १ वैशाख २०७८ देखि १५ शय्या क्षमताको अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । १५ शय्या क्षमताका लागि आवश्यक संरचना, पूर्वाधार र जनशक्ति तयार गर्न थालिएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष सन्तोष सुवेदीले बताए । 

 

‘१५ शय्या निर्माण भइसके । निक साइमनबाट २ जना चिकित्सक आएका छ’, उनले भने, ‘अस्पताल प्रशासन र बिरामी भर्ना गरेर उपचार गर्ने ठाउँ तयार पार्नेदेखि उपकरण र अन्य सामग्री व्यवस्थापन भएको छ ।’

 

पुरानो भवनको भुइँ तलामा आकस्मिक उपचार कक्ष र बहिरंग विभाग सञ्चालन गर्न तयार पारिएको छ । निक साइमन इन्स्टिच्युटले १० लाख रुपैयाँ बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाले यो वर्ष एनएसआई ग्रान्ड परियोजनामार्फत थप १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । 


मालिका गाउँपालिकाले चालू आर्थिक वर्षमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुणस्तर सुधार शीर्षकमा ३५ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।

 

यसअघि आकस्मिक र कार्यालय समय स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो । अस्पतालमा रुपान्तरण भएपछि डाक्टर आएकाले चौबीसै घन्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालेको छ । 

 

‘औपचारिक रूपमा वैशाखदेखि भनिए पनि २ वटा शय्या बनाएर बिरामी भर्ना गरेर सेवा दिन थालेका छौँ’, डा. समीरण काफ्लेले भने, ‘यसअघि गम्भीर प्रकृतिका बिरामीको स्वास्थ्य परीक्षण गरेर रिफर हुन्थ्यो भने अब उपचार नै यही हुन्छ । सुविधा पनि थप हुँदै जान्छन् ।’ 


यसअघि १ जना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो । अहिले ३ जना चिकित्सकको दरबन्दी व्यवस्थापन भएको छ । केही जनशक्ति गाउँपालिकाले व्यवस्थापन गर्नेछ । 

 

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मालिका, धवलागिरि, मंगला र तमानखोला गाउँबासीले सेवा लिने गरेका छन् । अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी, बागलुङ, पोखरा, काठमाडौंलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने स्थानीय विष्णु खत्रीले बताए । 

 

‘उपचारका लागि बेनी, पोखरालगायत ठाउँमा जाँदा हुने खर्च र समयको बचत भएको छ’, उनले भने, ‘अस्पताल बनेर चौबीसै घन्टा सेवा दिन थालेपछि धेरै सुबिधा र राहत मिलेको छ ।’

 

सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो । हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको ईसीजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधी पसल सञ्चालन गरेको छ । 

 

शवगृहको भवन बनाएर शव परीक्षणको सेवा पनि दिने तयारी छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ । 

 

सेवाग्राहीको चाप बढेकाले अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । स्तरोन्नतिसँगै उपकरण, पूर्वाधार र नियमित दक्ष जनशक्ति व्यवस्था गरेर प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवालाई निरन्तरता दिन पहल गर्ने उनको भनाइ छ ।