close

खानेपानी आयोजना बन्यो तर धारामा चुहिँदैन पानी

खानेपानी आयोजना बन्यो तर धारामा चुहिँदैन पानी

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङका बरेङबासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्रे गर्दा भत्केको पाइप र ट्यांकी मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् । 

 

बरेङ गाउँपालिका वडा नम्बर १ झुले बरेङ खानेपानी तथा सरसफाइ योजना गत आर्थिक वर्ष असारमा सकिएको थियो । काम सकिए पनि धारामा पानी नचढेपछि बरेङ बजारबासीले हैरानी खेप्नुपरेको हो । 

 

केपी कन्स्ट्रक्सन पोखराले ५१ लाख रुपैयाँमा खानेपानी आयोजना निर्माण गरेको थियो । अर्थ मन्त्रालयको विशेष अनुदानमा निर्माण गरिएको आयोजनाबाट पानी नआएपछि हैरानी खेप्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष टिकेश गलामीले बताए । 

 

‘निर्माण सम्पन्न भएको १ वर्ष बितिसक्दासमेत मर्मत गरेर पानी चलाउने विषयमा कुनै पहल भएको छैन,’ उनले भने, ‘पुरानो संरचना भत्काएर नयाँ बनाए पनि प्राविधिक कमजोरीका कारण धारामा पानी आएन ।’

 

खुला सडकमा पाइप राख्दा पटक-पटक फुट्ने गरेको गलामीले बताए । सडक निर्माणका क्रममा सबै धारा भत्काइएपछि अहिलेसम्म बनाइएको छैन ।

 

खानेपानीको व्यवस्थापन नहुँदै ठेकेदार कम्पनीले गाउँपालिकालाई आयोजना हस्तान्तरण गरेपछि सास्ती बेहोर्नुपरेको उपभोक्ता समितिका अध्यक्ष ललित उपाध्यायले जानकारी दिए । 

 

ठेकेदारले झुले-बरेङ-पात्ला-बाँस्कोट खानेपानी उपभोक्ता समितिलाई जानकारी नदिई पालिकालाई हस्तान्तरण गरेको थियो । उपयुक्त स्थानमा खानेपानी ट्यांकी नबनेकोले पटक-पटक समस्या आएको उनको भनाइ छ ।

 

‘सुरुमा राष्ट्रिय आयोजनाको काम भनेर स्थानीय खुसी भए,’ उनले भने, ‘काम अलपत्र पारेर ठेकेदार हिँडेपछि सास्ती भएको छ ।’

 

सुरुमा एक घर एक धारा भनेर खुसी भएका स्थानीय अहिले टाढाटाढा पुगेर पानी ल्याउन बाध्य भएको उनको टिप्पणी छ । आयोजनाबाट २ सय घरधुरी प्रभावित भएका छन् ।

 

आयोजनाबाट तंग्राम, सिग्दी, अर्लाङटुङ, काउलेचौर सोलार लिफ्टिङ खानेपानीका उपभोक्ताले समेत हैरानी खेप्नुपरेको छ । उपभोक्ताले समिति खोज्दा समितिले गाउँपालिका देखाउने गरेको छ । 

 

गाउँपालिकाले समिति जिम्मेवार रहने बताउँदै आएको छ । बरेङ गाउँपालिकाका सब-इन्जिनियर जुद्ध पुनले ठेकेदार कम्पनीले योजना हस्तान्तरण गरेको २ वर्षसम्म बिग्रेको खण्डमा बनाउने सर्त रहेको सुनाए । ‘सम्पर्कमा नरहेकाले बोलाउन सकिएको छैन,’ उनले भने, ‘जिम्मेवारी पूरा नहुँदा उपभोक्ताले दुःख पाएका हुन् ।’

 

कहिले आउला घर-घरमा धारा ?

 

बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ भीमगिठेमा पनि पानीको विकराल समस्या छ । बर्खामा अकासे पानीले घाँटी भिजाउने यहाँका सर्वसाधारण हिउँदमा कुवा र जंगल छेवैका पँधेराको भरमा बाँचेका छन् ।

 

समुदायको सक्रियतामा निर्माण भएका कतिपय गाउँ छेउका धारामा हिउँदमा पानी खस्दैन । 


भीमगिठेमा रहेको पानीको समस्या सामाधानका लागि नेपाल सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने भनेपछि यहाँ सुरु भएको ‘बिरही खानेपानी आयोजना’ समेत बजेट अभावले अलपत्र परेपछि स्थानीय थप समस्यामा परेका छन् । 

 

यो खानेपानी आयोजना २०७३ मा सुरु भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत बजेट प्राप्त भएर काम सुरु भएको यो क्रमागत आयोजना हो । 


अहिले यो खानेपानी आयोजनाको काम गर्ने-नगर्ने अन्योल छ । ‘यो वर्ष बजेट ४ लाख रुपैयाँ विनियोजन भएको कुरा छ तर निकासा नपाउँदा काम थाल्न सकिएको छैन,’ आयोजना उपभोक्ता समितिका अध्यक्ष रणबहादुर घर्ती मगरले भने, ‘वर्षौं भयो, बजेट कम हुँदा काम गर्न सकिएको छैन ।’ 

 

भीमगिठेका १ सय ४९ घरपरिवारलाई घर घरमै धारा पुर्‍याउन यो आयोजना सुरु भएको हो । यसअघि २ वटा मुहानबाट पानी ल्याउने गरी आयोजना सुरु भएको थियो । 

 

पहिलो र दोस्रो वर्ष लगाएर मुहानमा बनाइएका इन्टेक र केही पाइप बिच्छ्याउनेबाहेक थप काम हुन नसकेको घर्तीले बताए । आयोजना सुरु भएको ४ वर्ष बितिसक्दासमेत धारा बनेर पानी आउने वातावरण नबनेको स्थानीय रामबहादुर रायमाझी सुनाउँछन् । 

 

सर्वसाधारणले पशु चौपाया तथा सरसफाइका लागि पानी प्रयोग गर्न पाउँदैनन् । भीमगिठेमा रहेका सामाजिक संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा समेत पानी अभाव छ । ‘कहिले एक घर एक धारा होला र पानीको समस्या टर्ला भन्ने लागेको छ,’ रायमाझीले भने, ‘भीमगिठेले पानी पाउन वर्षौं कुर्नुपर्ने भयो ।’ 

 

अघिल्लो वर्ष ८ लाख रुपैयाँ खर्चेर यो आयोजनामा काम भएको थियो । पानी जम्मा गर्ने ट्यांकी, वितरण गर्ने ट्यांकी र घरघरमा धारा बनाउने र पाइपको काम बाँकी छ । क्रमागत आयोजना भएकाले बर्सेनि विनियोजन हुने बजेटका आधारमा स्टिमेट भएर काम हुने गरेको अध्यक्ष घर्तीले जानकारी दिए ।

 

आयोजना सम्पन्न हुँदा करोड बढी खर्च हुने भए पनि बजेट अति न्यून भएकाले काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।