close

जनप्रतिनिधिलाई स्वास्थ्य बिमा प्रावधान सिकाइँदै 

जनप्रतिनिधिलाई स्वास्थ्य बिमा प्रावधान सिकाइँदै 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- स्वास्थ्य बिमा बोर्ड काठमाडौंले ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिसहितका सरोकारवालालाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण गराउन थालेको छ । 

 

गत आइतबार आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण गराएको बोर्डले आउँदो सोमबार फुङ्लिङ नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण गराउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

 

बोर्डले देशभरका सबै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालालाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण गराउने सन्दर्भमा ताप्लेजुङका स्थानीय तहमा समेत यो कार्यक्रम सुरु गरेको हो ।

 

सरकारले देशका सबै नागरिकलाई ‘स्वास्थ्य बिमा कार्यक्रम’ मा समेट्ने रणनीति बनाएको छ । प्रत्येक वडामार्फत यो कार्यक्रमलाई अगाडि बढाइनेछ ।

 

त्यसका लागि वडामा कार्यरत महिला स्वयंसेविका, अनमी वा दस जोड दुई पढेकाहरूलाई सूचीबद्ध गरिनेछ । सोही सूचीका आधारमा स्वास्थ्य कार्यालय प्रमुखको अध्यक्षतामा गठित समितिले त्यसमध्येका उम्मेदवार छनोट गरी अन्तर्वार्ता लिइनेछ ।

 

अन्तर्वार्तामा पास भएका निश्चित व्यक्तिलाई सरकारद्वारा बिमासम्बन्धी तालिमको व्यवस्था गरिनेछ । तालिम प्राप्त व्यक्तिले घर–घरमा गएर बिमा गराएपछि कार्यक्रममा आवद्ध हुने प्रत्येक व्यक्ति बिमाका सदस्य बन्नेछन् ।

 

सबै सदस्यलाई सरकारद्वारा परिचयपत्र उपलब्ध गराइनेछ । परिचयपत्रको आधारमा बिमा सदस्यहरूले सरकारले तोकेको कुनै पनि अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

 

५ जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्यसहितको परिवारले बिमा शुल्कबापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । 

 

अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेछ । बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

 

उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनिका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।

 

बिमा गरे पाइने सुविधा 

 

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसनलगायत उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

 

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागे, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागे, गर्भपतन गर्नेले यो सेवा पाउने छैनन् । यस्ता उपचारलाई बिमाले समेट्दैन ।