close

टुक्रे योजनाले बढायो बाढीपहिरोको जोखिम

टुक्रे योजनाले बढायो बाढीपहिरोको जोखिम

Trulli
ADVERTISEMENT

बाग्लुङ - वर्षा लागेपछि देशभर बाढीपहिरोले अधिकांश ग्रामीण सडक क्षतविक्षत भएका छन् । पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । यी सबैको मूल कारण अव्यवस्थित रुपमा खनिएका ग्रामीण सडकलाई मानिएको छ ।


एउटै गाउँमा जाने ३–४ वटा सडकका कारण बाढीपहिरो निम्तने गरेको छ । बाग्लुङका ग्रामीण क्षेत्रमा खनिएका अधिकांश सडकको हालत यस्तै छ । ढोरपाटनको पहिरोपछि बढी क्षति भएको जैमिनीमा पनि ग्रामीण सडककै कारण दुर्घटना भएको हो । जैमिनीमा सडककै कारण ३ जनाको मृत्यु भयो भने ३९ घर विस्थापित छन् । तर, ग्रामीण सडक खन्ने योजना हटेका छैनन् । 


गाउँपालिका र नगरपालिकाले अधिकांस पुँजीगत बजेट सडकमै सकिरहेका छन् । उनीहरुले अझै संरचना बनाउने र सडक पक्की बनाउनेतर्फ लगानी नगर्दा पहिरोको जोखिम बढेको हो । अघिल्लो वर्ष पूर्वाधार विकास कार्यालयको संरचना बाग्लुङमा थपिएको छ । उक्त कार्यालयमार्फत दर्जनौं ग्रामीण सडक खन्ने योजना छ ।


कार्यालय प्रमुख सोभियत खड्का  पहिरो नियन्त्रण हुने गरी सडक बनाउने योजना बनिरहेको सुनाउँछन् । ‘गत भदौको पहिलो साता बाग्लुङमा स्थापना भएको पूर्वाधार विकास कार्यालयले चालू वर्ष ८० भन्दा बढी  सडक आयोजनामा काम गर्दै छ । अधिकांश नयाँ ट्रयाक र मर्मतको शीर्षकमा बजेट आएको छ’, खड्का भन्छन् । तर, बजेट यो कार्यालयमा पनि १० लाखदेखि सुरु भएका छन् । १– २ योजना मात्र करोड अंकका छन् । 


‘सडकमा १०, १५ लाख रकम भनेको पहिरो निम्तने गरी डोजर लगाउने मात्रै हो,’ अधिवक्ता राम शर्मा भन्छन्,  ‘दिगो विकासको योजना बनाउने विषयमा अझै कोही गम्भीर बनेका छैनन् ।’  गाउँमा डोजर पठाएपछि सडकबाहेकका अन्य बस्तीमा समेत पहिरो खस्न थालेको स्थानीयको गुनासो छ । 


भैरवस्थान जाने ४ वटा सडक एउटै क्षेत्रमा खनेकाले पनि जैमिनीमा पहिरो गएको स्थानीय बलराम पौडेलको दाबी छ । ‘बाटो खनेपछि विकास हुन्छ भनियो तर पहिरोले घरपरवार विस्थापित बनाइदियो,’ उनले भने, ‘पहिरो नियन्त्रणको काम र बजेट कसैले राखेका छैनन् ।’ 


गत भदौ १७ मा गएको भुजीखोलाको बाढीपहिरो पार गरेर ढोरपाटन पुग्न  ढोरपाटन–सालझन्डी सडक परियोजना सञ्चालनमा छ । तर, कार्यालयले यो क्षेत्र आसपासबाट ३–४ वटा सडक लैजाने योजना बनाएको छ । ती सबै सडकका लागि ५० देखि १ करोडसम्मको बजेट विनियोजन गरिएको छ ।


नयाँ सडक खोल्दा नियमित पहिरोको समस्या निम्तने गरेको स्थानीयको अनुभव छ । ३ वर्षअघि पनि ढोरपाटन नगरपालिका–६ मा पहिरोले दर्जनाैं घर बगाएको थियो । अहिले पनि १ सय २६ घर बगाएको छ ।


बस्ती पुनर्निर्माणको काम थाल्नुअघि नै जथाभावी सडकको ट्रयाक बनाउने क्रम सुरु भइसकेको छ ।