close

हलेसी तुवाचुङका किसानलाई हिल ट्यांक र पाइप सित्तैमा 

हलेसी तुवाचुङका किसानलाई हिल ट्यांक र पाइप सित्तैमा 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका किसानलाई कृषि सामग्री प्रदान गरेको छ । 

 

नगरपालिकाको वडा नम्बर ७ महादेवस्थान गैरीगुठका सुन्तला किसानलाई १० लाख रुपैयाँ बराबरको हिल ट्यांक, पाइप, कटिङ मेसिन, गोडमेल उपकरण प्रदान गरिएको हो ।

 

सुन्तला पकेट क्षेत्र घोषणा गरिएको गैरीगुठका किसानको प्रोत्साहनका लागि आवश्यक सामग्री प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

 

सुक्खाग्रस्त क्षेत्र मानिने नगरपालिकाको महादेवस्थान गैरीगुठका सुन्तला किसानलाई पानी सञ्चित गर्दै सुन्तला खेतीमा उपयोग गर्न हिल ट्यांकी, पाइपलगायत कृषि सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

 

किसान आफंैले ट्यांकी, पाइपलगायत सामग्री खरिद गरेर ल्याएपछि शनिबार मेयर राई, उपमेयर विमला राईलगायतले ४७ घर किसानलाई हस्तान्तरण गरे । 

 

११ वटा वडा रहेको नगरपालिकाको गैरीगुठमा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । हालसम्म सोही ठाउँमा उत्पादित सुन्तलाले नै हलेसी बजारलाई धान्ने गरेको छ ।

 

सुन्तला बिक्रीबाट हरेक वर्ष गैरीगुठमा लाखौँ रुपैयाँ भित्रिने गरेको छ । विगत समयदेखि नै गैरीगुठका किसानले सुन्तला खेतीबाट आयआर्जन गर्दै आएको आधारमा नगरपालिकाले सो ठाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा अघि सारेको हो ।

 

गैरीगुठका किसानको बगैँचामा हाल करिब २ हजार वटा सुन्तलाका पुराना बोट छन् । यसबाहेक हालै ६ हजार नयाँ बोट रोपिएको छ । 

 

‘गैरीगुठका किसानले विगतदेखि नै व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । यसबाट आयआर्जन गरेर आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन्,’ मेयर राईले भने, ‘तर सुन्तला खेती गरिरहेका किसानले सिँचाइ अभाव झेलिरहेका छन् । सुक्खा ठाउँ भएकाले पानी सञ्चित गरेर सिँचाइ गर्न हिल ट्यांक, पाइप बाँडेका हौँ ।’