close

खोपारा लेकमा सहकारीको होटल 

खोपारा लेकमा सहकारीको होटल 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ खोपारामा सहकारी संस्थामार्फत होटल सञ्चालन भएको छ । खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको पाउद्वार पर्यटन सहकारी संस्थाले पदमार्ग सुरु गर्ने तयारी गरेको छ । पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताए ।

 

‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौँ’, उनले भने, ‘पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीय स्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौँ ।’

 

यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । होटलका संरचनाको मूल्यांकन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षय कोष बनाउने सम्झौता भएको छ ।

 

अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक दर्ता भएर ११ फागुनदेखि सञ्चालन भएको सहकारीमा हाल पाउद्वारका १२३ जनाले ८८ लाख रुपैयाँ सेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारीमार्फत गरिनेछ ।

 

होटलको आम्दानीलाई सञ्चालन खर्च कटाएर मुनाफाको रूपमा सेयर सदस्यलाई वितरण गरिनेछ । स्थानीयले होटलमा रोजगारीका साथै कृषि र पशुजन्य उपज बेचेर आयआर्जनको अवसर पाएका छन् ।

 

विद्यालयअन्तर्गत सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिएपछि सहकारी मातहत ल्याइएको अध्यक्ष तिलिजाले जानकारी दिए । २०७६ मंसिरदेखि प्रस्तावित सहकारीलाई होटल व्यवस्थापनको जिम्मा लगाइएको थियो ।

 

सहकारी मातहत आएको १ वर्षको अवधिमा होटलले ३१ लाख रुपैयाँको कारोबार गरेको छ । समुद्री सतहदेखि ३३०० मिटरको उचाइमा अवस्थित खोपारामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । १२ कोठे होटलको क्षमताले पाहुनाको चाप थेग्न नसकेपछि २६ लाख रुपैयाँ खर्चेर ८ कोठे नयाँ भवन निर्माण गरिएको छ । 

 

पहाडको शिरमा भिरालो भूगोलमा अवस्थित खोपाराबाट सूर्योदय, हिमाल, वन-जंगलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । खोपारा क्षेत्रमा चाैँरी र भेडापालन यहाँको थप आकर्षण भएको सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताए ।

 

खोपारा, बयली र ढाडखर्कका सामुदायिक लजलाई धुँवारहित बनाउन महावीर पुनको अगुवाइमा २ करोड रुपैयाँको लागतमा ५० किलोवाट क्षमताको घोस्केखोर लघु जलविद्युत् परियोजना निर्माण भएको छ ।

 

सहकारीमार्फत कालीगण्डकी नदी किनारमा रहेको पाउद्वार तातोपानी कुण्डदेखि भालखरा, खोपारा, खयर ताल, खोपारा, लरेनी हुँदै पाउद्वार जोड्ने ५ दिने पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु भएको छ । 


गाउँपालिकाले पाउद्वार तातोपानी कुण्डमा २० लाख रुपैयाँमा ठेक्कामार्फत टायल बिछ्याउने र स्नानगृह निर्माण सुरु गरेको छ । पालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण सकिएको छ । प्रस्तावित पदमार्गमा पर्ने भालखरामा अर्को सामुदायिक होटल सञ्चालनको प्रस्ताव गरिएको छ ।