close

गरिबका दुःख: गिटी कुटेरै उपचार खर्च जोहो गर्ने सपना 

गरिबका दुःख: गिटी कुटेरै उपचार खर्च जोहो गर्ने सपना 

Trulli
ADVERTISEMENT

सुर्खेत- मध्याह्न १२ बजेको उखरमाउलो गर्मी । गाउँ नजिकैको खुला चौरको हातामा हथौडा लिएर निथु्रक्क भिजेको शरीर । च्यातिएका लुगा अनि नजिकै बाँसका २ वटा छडी । 

 

यिनी हुन्, दैलेखको ठाटीकाँधस्थित वडा नम्बर १ का १६ वर्षीय लोकेन्द्र विक । २ वटा बाँसको छडीलाई सहारा बनाएका उनी सहजै हिँड्डुल गर्न पनि सक्दैनन् ।

 

२०७४ मा पढाइ खर्च जुटाउन भारतको उत्तराखण्ड पुगेका उनी काम गर्ने क्रममा दुर्घटनामा परी अपांग बने । केही पैसा कमाएर पढाइलाई निरन्तरता दिउँला भनेर परदेशिएका उनी अपांग बनेर घर फर्किएपछि परिवारमा झनै दुःख थपिएको छ । 

 

उपचार गर्न गाउँ-छिमेकीसँग ऋण मागेरै लिएको पैसा पनि काठमाडौं नपुग्दै सकियो । यसले गर्दा उपचार सम्भव भएन । लोकेन्द्रले गिटी कुटेरै भए पनि आफू पहिलेजस्तै भएर पुनः विद्यालय फर्किने सपना देखेका छन् । 

 

दिनभरको घाममा मुस्किलले ३ कठ्ठा जति गिटी कुट्छन् । त्ययलाई प्रतिकठ्ठा ८० रुपैयाँका दरले बिक्री गर्छन् । ‘घरको आर्थिक अवस्था कमजोर थियो । आमाबाबुले पढाउन सक्ने स्थिति थिएन’, उनले भने, ‘आफैं कमाएर पढ्छु भनेर २०७४ मा भारतको उत्तराखण्डमा सडकमा काम गरिरहेका बेला माथिबाट पर्खाल भत्किँदा ढुंगा खसेर अपांग बनेँ ।’

 

भारतमा उपचार गर्ने क्षमता नएपछि गाउँका परदेशीसँग ऋण सापट गरेर नेपाल आएको उनी सुनाउँछन् । ऋण सापट गरेर उपचार गर्ने योजना आर्थिक अभावले पूरा नभएको वेदना उनले सुनाए ।

 

‘कतैबाट पनि उपचार खर्च नजुट्दा गिटी कुट्न थालेको हुँ । गिटी कुटेको यही पैसाले उपचार गर्ने धोको छ’, उनले भने, ‘घरमा आमाबुबा र भाइबहिनीको अनुहारमा खुशि ल्याउँछु भनेर १३ वर्षको उमेरमा परदेशिएँ । उल्टै अपांग बनेपछि परिवारलाई ऋणमा चुर्लुम्म डुबाएर आफैं बाँसको छडीको सहारामा हिँड्नुपरेको छ ।’


 
छोराको उपचारका लागि विभिन्न ठाउँ गुहार्दा पनि खर्च नजुटेपछि आमाबुबालाई पनि चिन्ताले पिरोलिरहेको छ । लोकेन्द्रकै उपचारका लागि आमाबाबुले नजिकैको सडकमा जाली भर्ने काम गरिरहेका छन् । ‘लोकेन्द्रसँगैका परदेशिएका तल्लोमाल्लो घरको छोरा परदेशबाट घर आउँदा र छोराका स्कुले साथीलाई देख्दा मन भक्कानिएर आउँछ’, आमा मैसरा विक भन्छिन् ।

 

छोरालाई पहिलेकै अवस्थामा ल्याउन दिनरात भनेर ज्याला मजदुरी गरे पनि खर्च नजुट्दा बेलाबेला भक्कानो छुटेर रुने गरेको उनी सुनाउँछिन् । ‘भएको जग्गाजमिन पनि छोराको उपचारका लागि बेचेँ । अहिले जग्गा-जमिनका नाममा १ कठ्ठा मात्रै छ । साँझ-बिहान एक छाक टार्न पनि मुस्किल छ’, आमा विकले वेदना पोखिन् ।

 

डाक्टरले छोराको उपचार सम्भव रहेको बताएकाले दाता खोजे पनि कोही नपाउँदा उनीहरू निराश छन् । बिरामी अवस्थामै नेपाल आएका उनलाई फिजियो केयर हस्पिटल रोड नेपालगञ्जमा उपचार गरियो । तर, पूर्ण रूपमा उपचार हुन सकेन । उपचार गर्न सके लोकेन्द्र पुनः हिँडडुल गर्न सक्ने डाक्टरले बताएको आमा मैसरा सुनाउँछिन् ।