close

सेरामा सिँचाइ कुलो पुग्दा खेतबारी हराभरा

सेरामा सिँचाइ कुलो पुग्दा खेतबारी हराभरा

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ६ सेरामा सिँचाइ कुलो पुगेपछि खेतबारी हराभरा भएका छन् । सिँचाइ अभावमा कतै बाँझै त कतै उब्जनी नहुने रुखो र सुक्खा खेतबारीमा सिँचाइ पुगेपछि खेतबारी हराभरा हुन थालेका हुन् ।

 

कृषि विकास कार्यालयको गत वर्षको २५ लाख र चालू वर्षको २५ लाख गरी ५० लाख रुपैयाँको लागतमा निर्माण भएको पक्की कुलो निर्माण गरी सेरागाउँको खेतबारीमै पुगेपछि कृषक खुसी भएका छन् । सिम्लेखोलाबाट ९ सय मिटर कुलो निर्माण गरी खेतमा पानी झारिएको छ ।

 

खाँडाचक्र नगरपालिकाकै कृषि उत्पादन क्षेत्रका रूपमा रहेको सेरागाउँमा सिँचाइका लागि पानीको कुलो पुगेपछि अहिले त्यहाँका कृषकलाई तरकारी उत्पादन गर्न भ्याई-नभ्याई छ ।

 

औली क्षेत्र भए पनि खोलामा पानी बगिरहने तर खेतबारी बाँझै हुने अवस्था थियो । अहिले सिम्ले खोलादेखि पक्की कुलोबाट खेतमा पानी पुगेपछि खेतबारी हराभरा भएको स्थानीय कृषक सर्पसिंह शाहीले बताए ।

 

उनले भने, ‘रुखो जमिनमा दुःख गरेर पसिना बगाए पनि उब्जनी नहुने रहेछ । अन्नबाली र तरकारी उत्पादन गर्न पानी नै चाहिन्छ । अहिले सिँचाइ पुगेपछि कम दुःख, बढी प्रतिफल पाएका छौँ । बेमौसमी तरकारी देखी गहुँबाली रामै्र छ । तरकारी लगाएका छौँ । जताततै हराभरा देखिएको छ ।’ 


सर्पसिंह मात्र होइन, खेतबारीमा सिँचाइका लागि पानी पुगेपछि स्थानीय कृषक भीमप्रसाद भट्टराई पनि खुसी देखिन्छन् । सेरागाउँ खाँडाचक्रकै बढी अन्नबाली उत्पादन हुने क्षेत्र हो । यहाँ धेरैजसो धानबाली उत्पादन हुने गरेको छ ।

 

अहिले सिँचाइ सुविधा भएपछि रुखो क्षेत्रमा पनि तरकारी र अन्नबाली लगाउन थालिएको छ । भट्टराईले भने, ‘गाउँमा अधिकांशले तरकारी खेती गरेका छन् भने अन्नबाली उत्पादन पनि बढ्ने देखिएको छ ।’

 

सेरागाउँलाई कृषि पकेट क्षेत्रका रूपमा घोषणा गरिसकेको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले बताए । ‘सेरालाई नगरपालिकाकै कृषि पकेट क्षेत्रका रूपमा घोषणा गरेका छौँ । यहाँ फलफूल, तरकारी र अन्नबालीको उत्पादन बढी हुने हुँदा कृषि पकेट क्षेत्र घोषणा गरेका हौँ,’ उपाध्यायले भने ।

 

पकेट क्षेत्र घोषणा गरेअनुसार बजेट अभाव हुँदा उत्पादनमा चुनौती देखिएको उनले बताए । सेरालाई कृषि उद्यमी क्षेत्र बनाउन मुख्यमन्त्री रोजगारको केही बजेट परे पनि त्यसले नपुग्ने उपाध्यायको भनाइ छ । ‘बजेट अभावले थप बजेट प्रदेश सरकारसँग माग गरेका छौँ’, उनले भने ।