close

अब वडाबाटै स्वास्थ्य बिमा हुने, यस्ता छन् सुविधा

अब वडाबाटै स्वास्थ्य बिमा हुने, यस्ता छन् सुविधा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– सरकारले अब प्रत्येक पालिकाका वडाहरूबाटै स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुनेहरूको सूची दर्ता गर्ने भएको छ ।

 

त्यसका लागि प्रत्येक पालिकाका वडामा १–१ जना दर्ता कर्मचारी नियुक्त गर्ने स्वास्थ्य बिमा बोर्डको तयारी छ । वडापालिकाले दर्ता कर्मचारी छनोट गरी त्यसको सिफारिस स्वास्थ्य बिमा बोर्डमा पठाएपछि नियुक्ति प्रक्रिया पूरा हुने स्वास्थ्य बिमा बोर्ड प्रदेश १ संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए ।

 

स्वास्थ्य बिमाको प्रक्रिया र यसको लाभबारे स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालालाई बुझाउँदै हिँडेको टोलीले सोमबार फुङलिङ नगरपालिकामा जिल्लास्तरीय अभिमुखीकरण गरेको छ ।

 

स्वास्थ्य बिमा बोर्ड सदस्य सुवासकुमार लम्सालका अनुसार स्वास्थ्य बिमाको प्रक्रियामा रहेको ताप्लेजुङ ६९औँ जिल्ला हो । आउँदो २५ चैतभित्र देशका २ बाहेक अरू ७५ जिल्लामा यो कार्यक्रम सुरु भइसक्ने लम्सालले बताए ।

 

काठमाडौं र ललितपुरमा भने स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न प्रक्रिया सुरु भएको छैन । स्वास्थ्य बिमा बोर्डले २५ चैत २०७५ मा कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम यही आर्थिक वर्षभित्र देशका सबै जिल्लामा पु¥याउने सरकारी लक्ष्य छ ।

 

‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ नारा दिएर सुरु गरिएको कार्यक्रम स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने, स्वास्थ्य समस्याका कारणले हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने अभियानबाट प्रेरित छ ।

 

बिरामी भएका बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम रकमको व्यवस्थापन भएको प्रणालीलाई स्वास्थ्य बिमा भनिन्छ । यो बिमाले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अधिकतम २ लाख रुपैयाँसम्मको खर्च बेहोर्न सघाउ पुर्‍याउँछ ।

 

बोर्डका प्रदेश १ संयोजक आचार्यका अनुसार जिल्लाका सम्पूर्ण नागरिक तथा सो जिल्लामा ६ महिनाभन्दा बढी अस्थायी बसोबास भएका नागरिकले स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन पाउँछन् । 


स्वास्थ्य बिमामा कसरी समावेश हुने


 
कार्यक्रममा सहभागी हुन बढीमा ५ जनासम्म सदस्य भएका परिवारले वार्षिक प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । ५ जना बढी सदस्य भए ३ हजार ५ सय रुपैयाँमा प्रतिसदस्य थप ७ सय रुपैयाँका दरले थप शुल्क लाग्नेछ । 

 

५ जना कम सदस्य भए पनि तिर्नुपर्ने ३ हजार ५ सय रुपैयाँको दायित्व भने कम हुँदैन । यदि अतिविपन्न परिवार, महिला स्वास्थ्य स्वयंसेविका, एचआईभी संक्रमित, कुष्ठ रोगी, टिबी रोग लागेका व्यक्ति, अतिअशक्त अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको प्रमाणपत्र भएको व्यक्ति भए योगदान रकममा अनुदान र सहुलियत दिने कार्यविधि छ । 

 

तर, ताप्लेजुङमा अतिविपन्न परिवार कार्यक्रम लागू नभएकाले यो हकमा स्थानीय तहले बेहोर्नेबाहेक बिमा गर्ने परिवारले नै दायित्व वहन गर्नुपर्ने संयोजक आचार्यले जानकारी दिए । 

 

यस्ता छन् सुविधा

 

सुविधाको थैलीको सीमा ५ जनासम्मको परिवारलाई वार्षिक १ लाख रुपैयाँ रहेको छ । ५ जना बढी परिवारका सदस्य भए प्रतिथप सदस्यबापत २० हजार रुपैयाँको सीमा बढ्दै जान्छ । यसको अधिकतम सीमा भने २ लाख रुपैयाँको छ । 

 

सेवा उपलब्ध हुने स्थान 

 

बीमित सदस्यले स्वास्थ्य सेवा लिन प्रथम बिन्दुको रूपमा बिमा बोर्डसँग सम्झौता गरेका कुनै पनि नजिकको स्वास्थ्य संस्था रोज्न पाउनेछन् । नजिकको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमध्ये जुन पनि हुन सक्छ । तर, कार्यक्रममा सूचीकृत भएको स्वास्थ्य संस्थालाई मात्रै प्रथम स्वास्थ्य संस्थाको रूपमा रोज्न पाइन्छ । 

 

वार्षिक नवीकरण अनिवार्य


 
कार्यक्रमको सदस्यता वार्षिक रूपमा दर्ता सहयोगीमार्फत नवीकरण गर्नुपर्छ । स्वास्थ्य बिमा कार्यक्रमको सदस्यता लिएपछि सेवा क्रियाशील भएको मितिदेखि लागू हुने गरी १ वर्षका लागि मात्र बिमा अवधि वैध रहन्छ । 

 

यो हिसाबले वैशाख, जेठ र असारमा सदस्यता दर्ता गरेका बीमित सदस्यको सदस्यता १ भदौबाट, साउन, भदौ र असोजमा दर्ता गरेकाको सदस्यता १ मंसिरबाट, कात्तिक, मंसिर, पुसमा दर्ता गरेका सदस्यको १ फागुनबाट र माघ, फागुन र चैतमा दर्ता गरेका सदस्यको सदस्यता अर्को वर्षको १ जेठबाट सोभन्दा अर्को वर्षको वैशाख मसान्तसम्म क्रियाशील रहन्छ । सोभन्दा अगावै बीमित सदस्यले सदस्यता नवीकरण गरिसक्नुपर्छ ।