close

मतदाता कुटेर वडाध्यक्ष फरार

मतदाता कुटेर वडाध्यक्ष फरार

Trulli
ADVERTISEMENT

भक्तपुर– चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्कासहित ३ जना फरार भएका छन् । गत शनिबार राती स्थानीय व्यवसायी लक्ष्मण खिचाजुलाई कुटपिट गरेका उनीहरू प्रहरीमा उजुरी परेपछि फरार भएका हुन् ।


परिवारका अनुसार वडाध्यक्षसहित नगरपालिकाको वडा नम्बर बागेश्वरीका प्रकाश लामिछाने र पूर्वसैनिक जवान विश्व खड्का कुटपिटमा संलग्न रहेका थिए । 

 

कुटपिटपछि बेहोस भएका खिचाजुलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ । कुटपिटका कारण बिरामीको घाँटीमा समस्या हुनुका साथै खाना खान र पानी निल्नसमेत गाह्रो भएको घाइते परिवारले जानकारी दिएको छ ।

 

पीडित परिवारले आइतबार वडाध्यक्षसहित ३ जनाविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दर्ता गराएको छ । जाहेरीमा वडाध्यक्षलगायत कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ ।


यस्तो छ घटना विवरण

 

शनिबार करिब १ बजेतिर पिखेलस्थित लक्ष्मण खिचाजुको हार्डवेयर पसल पछाडि चढेर आएको गाडी पार्किङ गरेर पिके खाजा घरमा छिरेका थिए । गाडी अव्यवस्थित पार्किङ गरेर भित्र छिरेको वडाध्यक्षको टोली धेरै समय बाहिर निस्किएन ।

 

सामानसहितको गाडी पसल अगाडि पार्किङ गरेर लक्ष्मण खिचाजु घरतर्फ लागे । घरमा पुगेपछि वडाअध्यक्ष खड्काले गाडी फुटाइदिउँ कि हटाउने भनेर धम्की दिए ।

 

त्यसपछि खिचाजु र उनका भाइ गाडी हटाउन पसल अगाडि पुगे । पसल अगाडि पुगेपछि खिचाजुका अंकलले आफ्नै पार्किङमा राखेको मेरो गाडी किन फुटाउने भनेर सोधेलगत्तै वडाध्यक्षले घाँटी समातेर कुटपिट गर्न थाले । 

 

उनको साथमा रहेका पूर्वसैनिक विश्व खड्का र प्रकाश लामिछानेले टाउको र मुखमा हिर्काएर बेहोस बनाएको पीडित खिचाजुले बताए ।

 

स्थानीय कुट्ने वडाध्यक्ष

 

वडाध्यक्षले पटक–पटक गरी अरूलाई पनि कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् । केही समयअघि छालिङस्थित दोभान खानेपानीको बोरिङमा काम गर्न आएका मजदुरलाई पनि वडाध्यक्ष खड्का र प्रकाश लामिछानेले कुटपिट गरेका थिए । 

 

त्यस्तै, जग्गाको विवादमा पनि हरिकृष्ण लागेजुलाई कुटपिट गरेका थिए । बाटो सम्बन्धमा विवाद हुँदा गैंडाटोलका प्रवीन गैडालाई पनि कुटपिट गरेका थिए ।

 

केही समयअघि वडाध्यक्षले आफ्नै इलाकामा कुटपिट गरेका व्यक्ति राजस्व अनुसन्धानका कर्मचारी परेपछि प्रहरी परिसरमा न्यायका लागि पुगेका थिए । तर, प्रहरीले जबर्जस्ती मिलापत्र गराइदिएको थियो । 

 

फरार वडाध्यक्षसहितको टोलीको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक (एसपी) तारादेवी थापाले जानकारी दिए ।