म्याग्दी– जिल्लाको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कका रमेश तुलाचन गाउँ बाहिर तथा विदेशमा रहेका आफन्तसँग मोबाइलमा सम्पर्क गर्न एक घन्टा हिँडेरै छिमेकी वडा चिमखोलाको गौडामुनी पुग्छन् ।
ग्रामीण क्षेत्रका स्थानीयलाई साविकको कुइनेमंगल गाविसमा पर्ने रघुगंगा–८ कै याङ्लेका याम घर्तिमिरे खोलापारिको खरिबोटको बस्ती पुग्न चौरखानी हुँदै २ घन्टा घुमाउरो बाटो पार गर्नुपर्छ ।
रघुगंगा नदीमा आएको बाढीले पैदल हिँड्नसमेत नमिल्ने गरी सडक बगाएपछि दुवाडीकी मंगली विक वडा कार्यालय रहेको घ्याँसीखर्क पुग्न जंगल र जँघार तरेर जोखिमयुक्त यात्रा गर्नुपर्ने वेदना सुनाउँछिन् ।
कुइनेखानीका करिब १ सय घरधुरी व्यक्तिगत घटना दर्तालगायत वडाको सेवाका लागि चार घन्टा भीर, जंगल र खोल्साको बाटो हिँडेर्र घ्याँसीखर्क पुग्नुपर्छ । आधारभूत तहभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न विद्यार्थीले घरै छाड्नुपर्छ ।
घ्याँसीखर्कमा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण थालिएको चार वर्ष पुग्यो तर अहिलेसम्म नबन्दा जीर्णावस्थाको एक कोठे भवनबाट सेवा प्रवाह गर्न असहज छ ।
दशकअघि ट्रयाक खोलिएको ट्याक्टर मात्र गुड्ने बेगखोला–चिमखोला–घ्यासीखर्क जोड्ने सडक भए पनि यातायात सुविधा छैन । यो भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको कुइनेमंगलेका बासिन्दाको वर्षैदेखिको भोगेको साझा समस्या हो ।
सञ्चार सुविधाबाट पनि वञ्चित
कुइनेमंगले र चिमखोलाका करिब १ हजार घरधुरीलाई मोबाइल फोनको सुविधा पु¥याउन रघुगंगा गाउपालिकाले २ वर्षअघि नै ३ लाख खर्चेर मेडलडाँडामा कुरुवा घर बनाएको थियो ।
तर, टेलिकमले टावर जडान गर्न ढिलाइ गर्दा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएको वडाध्यक्ष गमान छन्त्यालले बताए । ‘टेलिकमको कार्यालय धाउन थालेको ६÷७ वर्ष भयो,’ उनले भने, ‘अहिलेसम्म सञ्चार सुविधा नहुँदा हामी निराश छौं ।’
कतै फोन गर्नुपरे रुखको टुप्पोमा चडेर ‘हेलो– हेलो’ भन्दै चिच्याउनुपर्ने वाध्यतामा छन् वडाध्यक्ष स्वयम् पनि ।
चौरखानीको रघुगंगा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले मोबाइलमा गफिन देउरालीडाँडामा जाने गरेको बताउँछन् । ‘डाँडा पुगेपछि अलिअलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन,’ उनले भने, ‘चिच्याएर बोले मात्र आवाज सुनिन्छ । हामीले आवश्यकता प¥यो भने सम्पर्क गर्ने हो । अरुले चाहेर सम्पर्क हँुदैन ।’
सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको स्थानीय रैमान छन्त्यालको गुनासो छ ।
‘एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा आधारभूत भएको सञ्चार सुविधाबाट वञ्चित भएका छौं,’ उनले भने, ‘अधिकांशको साथमा रहेको मोबाइल सेट गीत सुन्न, भिडियो हेर्न र तस्बिर खिच्नमै सीमित छ ।’
एक मिनेट फोनमा कुरा गरे हुनेमा घन्टांै हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता गाउँबासीलाई छ । सूचना प्रवाह गराउन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपर्छ ।
कहिले पुग्छ त टावर ?
नेपाल टेलिकम बाग्लुङका वरिष्ठ इन्जिनियर केशव शर्मा चिमखोलामा बिटिएस टावर राख्न ठेक्का लागिसकेको दाबी गर्छन् ।
कोरोनाको जोखिम, लकडाउन र बाढीपहिरोले यातायात अवरुद्ध बनाएकाले चिमखोलामा बिटिएर जडान गर्न ढिला भएको उनको बनावटी तर्क छ । ‘विदेशबाट सामान ल्याइसकेको छ, कोरोनाको जोखिम भएकाले तराईबाट मजदुर ल्याउन समस्या छ,’ शर्माले भने, ‘यातायात र कोरोनाको अवस्था सहज भएपछि ठेकेदार टावर जडानका लागि आउँछन् ।’
सडक छ तर यातायात छैन
घ्यासीखर्कका व्यवसायी पदम छन्त्याल गाउँमा सडक पुगे पनि कामविशेषले सदरमुकाम बेनी आउजाउ पैदल यात्राबाट गर्छन् । ‘हिउँदमा पानी र हिउँ नपरेको बेला मात्र गाडी चल्छ,’ उनले भने, ‘घुमाउरो बाटोमा गुडेरभन्दा सीधा छोटो बाटो हिँडेरै छिटो पुगिन्छ ।’
सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर ५÷६ घन्टामै बेनी पुगिने पुनले बताए । चिमखोला र कुइनेमंगलका बासिन्दा चिमखोला–दर्मिजा–दग्नामको घोरेटो र दग्नामदेखि बेनी जोड्ने सडक प्रयोग गरेर आउजाउ गर्छन् ।
दुर्गम क्षेत्रमा पर्ने चिमखोला र कुइनेमंगले सडक सन्जालसँग जोडिएको ९ वर्ष भए पनि स्थानीयले सुविधा पाएका छैनन् । कच्ची सडक प्राविधिक रुपमा कमजोर, मर्मत अभाव र पहिरोको समस्याका कारण उपयोगमा आउन नसकेको हो ।
२०६७ मा बेगदेखि चिमखोला हँुदै कुइनेमंगलेको सिमानासम्म जोड्ने २८ किलोमिटर सडक निर्माण भएको थियो । सडकमा नियमित सवारी साधन सञ्चालन हुन सकेको छैन । चिमखोला र कुइनेमंगलेका बासिन्दा सदरमुकाम बेनी आउजाउ गर्न भीरपहरा, जंगल र खोल्साखाल्सी भएको पैदल मार्गमा हिँड्नुपर्ने बाध्यता छ ।
सपना भयो गाडी
‘गाडी चल्ने सपनाजस्तै भयो,’ चिमखोलाका ओम पुनले भने, ‘ट्याक्टर चल्न पनि राम्रो मौसम कुर्नुपर्छ ।’ गलेश्वरदेखि पिप्ले भगवती हुँदै बेगसम्म पुगेको सडक विस्तार गरेर चिमखोला पु¥याउन तत्कालीन गाविस, जिविस र स्थानीय तथा विदेशमा रहेकाहरूले ६० लाख रुपैयाँ लगानी गरेका थिए ।
हाल उक्त सडकमा हिउँदमा मात्र मुस्किलले ट्याक्टर चल्ने चिमखोलाका गम पुन बताउँछन् । सामान ढुवानी गर्न ट्याक्टर रिजर्भ गर्नुपर्छ । बेनीदेखि चिमखोला रिजर्भमा ट्याक्टरबाट ढुवानी गर्दा २० हजार भाडा लाग्ने व्यवसायी सञ्जय कुँवरले बताए ।
३ हजार मिटर उचाइमा हिउँ छिचोलेर चिमखोला पुग्ने र फर्किने सडक जोखिमपूर्ण भएको ट्याक्टर चालक जगत दर्जीले जानकारी दिए । ‘एक्लै जान सकिँदैन । २–३ तीन वटा ट्याक्टर सँगै लैजान्छौं,’ उनले भने, ‘बाटोमा फस्यो भने अर्को ट्याक्टरले तानेर निकाल्छौं ।’
विकाशसँगै पहिरोले हेप्छ वर्षेनी
बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउजाउका लागि पैदलयात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको कुइनेमंगल शिक्षक देउमान घर्तीको गुनासो छ । बेगको सिरुबारीमा पहिरो खसेर सडक अवरुद्ध हुने गर्छ ।
बेग–चिमखोला सडक निर्माण समितिको नेतृत्व गरेका चिमखोलाका वडाध्यक्ष दुर्गा पुन भौगोलिक विकटता र घुमाउरो भएकाले सडक प्रयोगमा आउन नसकेको बताउँछन् ।
ढुवानीको समस्याका कारण विकास आयोजनाको लागत बढ्नुका साथै काममा ढिलाइ हुने गरेको छ । विद्यालय, स्वास्थ्य चौकीका भवन, झोलुंगे पुल निर्माणका साथै जलविद्युत् आयोजनासमेत ढुवानी समस्याले प्रभावित भएका छन् ।
बाटो छैन, अध्याँरो छ गाउँ
कुइनेमंगल र चिमखोलामा ७ जलविद्युत् आयोजनाले निर्माणको लाइसेन्स लिएर बसेका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी पुरानो सडक असफल भएकाले दग्नाम–दर्मिजा–चिमखोला सडक निर्माणमा प्राथमिकता दिएको बताउँछन् ।
गाउँपालिका र सडक डिभिजन कार्यालयले चिमखोलादेखि दर्मिजासम्म ३ किलोमिटर सडक खनिसकेका छन् । मौवाफाँटदेखि दग्मामस्थित अजिंगर भीरसम्म पुगेको सडक विस्तार गर्न यो वर्ष गाउँपालिकाले १ करोड ५० लाख र प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
सरकारी निकायले बराबर जलविद्युत् आयोजनाले पनि सडक निर्माणमा लगानी गर्ने सहमति भएको छ । अहिले पनि दर्मिजा र दग्नाम दुवै तर्फबाट ५ वटा डोजर परिचालन गरेर ट्रयाक खन्ने तथा विस्फोटक पदार्थ प्रयोग गरेर अजिंगर भीरमा पहाड फुटाउने काम भइरहेको दर्मिजाका सुविन शेरपुञ्जाले जानकारी दिए ।
‘यसै वर्षभित्र अजिंगर भीरमा सडक खोलेर चिमखोला र कुइनेमंगललाई सडक सन्जालमा जोड्ने लक्ष्य छ’, गाउँपालिका अध्यक्ष भण्डारीले भने ।
स्वास्थ्य सेवाको पनि कन्तबिजोक
घ्यासीखर्कमा संघीय सरकारअन्तर्गतको भवन डिभिजनको संघीय आयोजना कार्यान्वयन इकाइ पोखराद्वारा सञ्चालित सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण योजना अलपत्र परेको छ । लकडाउन, कोरोनाको जोखिम, बाढीपहिरोको बहानामा गत चैतदेखि अन्तिम चरणमा पुगेको भवन निर्माणको काम रोकिएको हो ।
ठेकेदार नै भागे
१ करोड ६० लाखमा निराजन खतिवडा सञ्चालक रहेको त्रिशक्ति निर्माण कम्पनीले भवन निर्माणको ठेक्का लिएर कृष्ण शर्मालाई पेटी ठेक्का दिएको थियो । ठेकेदारले भवन निर्माणमा काम गरेका मजदुरलाई ज्याला नदिएर सम्पर्कविहीन भएको स्थानीयको गुनासो छ ।
रघुगंगा नदी किनारमा निर्माण भएको स्वास्थ्य चौकीको भवन कटानको पनि जोखिममा छ । २७ भदौ, २०७५ मा निर्माण क्रममा रहेको भवनभित्र बाढी पसेको थियो ।
स्वास्थ्य चौकी हाल एउटा मात्र कोठा भएको जीर्ण भवनबाट सञ्चालन गरिएको छ । ‘बिरामीको स्वास्थ्य परीक्षण, औषधी भण्डारण र प्रशासनिक काम एउटै कोठाबाट गर्नुपर्दा असहज भएको छ’, स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले भने । कुइनेका बासिन्दाको स्वास्थ्य सुविधाका लागि भने गाउँपालिकाले २०७६ मा स्वास्थ्य इकाइ स्थापना गरेर गाउँमै सेवा दिने व्यवस्था मिलाएको छ ।
प्रकृतिको विनाश
गत असारयता रघुगंगा नदीमा आएको बाढीले कुइनेमंगलको खरिबोट, बन्दीघाट, छहरी र एकरातेस्थित झोलुंगे पुल बगाएपछि एक गाउँदेखि अर्को गाउँमा आउजाउ गर्न, खाद्यान्न ढुवानी गर्न र बिरामी हुँदा अस्पताल पुग्न समस्या परेको छ ।
चिमखोला हँुदै ¥यासीखर्क जोड्ने सडक दर्जनौं ठाउँमा बाढीपहिरोले बगाएपछि जोखिम मोलेर घुमाउरो बाटो पैदल यात्रा गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २ सय बढी घरधुरी ५ मिनेटको बाटो पार गर्न २ घन्टा घुमाउरो बाटो हिँड्न बाध्य भएको याङ्लेका रेशबहादुर विक बताउँछन् ।
‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र कामविशेषले छिमेकी गाउँ पुग्न समस्या भएको छ,’ उनले भने, ‘खोलामा जँघार तरेर अथवा ५ मिनेटमा पुगिने बाटो पार गर्न २ घन्टा घुमाउरो बाटो हिँड्नुको विकल्प छैन ।’
बाढीले बगाएको ठाउँमा नयाँ पुल निर्माणका लागि निवेदन संकलन गरेर प्रदेश सरकारलाई सिफारिस गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
दुर्गम र विकट भएकाले वडामै पुगेर जेष्ठ नागरिक, अपांगता परिचयपत्र वितरण र व्यवसायी दर्ता तथा उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालिएको अधिकृत सुवेदीले जानकारी दिए ।
७ घरसहित दुवाडीमा २ सय रोपनी खेतीयोग्य जमिन र कालीबराह युवा क्लबको खेलमैदान बाढीले बगाएको छ । चौरखानीमा एउटा सामुदायिक भवन र एउटा निजी घर भत्किएको छ ।
पहिरोका कारण घरका पर्खाल चर्कन थालेपछि ३० भन्दा बढी घरधुरीको बसोबास भएको चौरखानी गाउँ नै जोखिममा परेको स्थानीय रामप्रसाद छन्त्यालले बताए ।
२०७५ भदौमा रघुगंगा नदीमा आएको बाढीले घ्यासीखर्कको रितुङ माविको भवन बगाएपछि विद्यालय अर्को ठाउँमा सारिएको थियो । पहिरो प्रभावितलाई राहत र खाद्यान्न उपलब्ध गराएको रघुगंगा गाउँपालिकाले जोखिमयुक्त चौरखानीको बस्ती स्थानान्तरणका लागि सुरक्षित ठाउँको पहिचान गर्न अध्ययन सुरु गरेको छ ।