close

विवादका कारण करोडौँको खानेपानी आयोजना अलपत्र

विवादका कारण करोडौँको खानेपानी आयोजना अलपत्र

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर २ बाकाचोलमा बनाइने भनिएको करोडौँको खानेपानी आयोजना अलपत्र परेको छ । बाकाचोलस्थित बिस्काम खोला मुहान भएको माथिल्लो खानेपानी योजना स्थानीय द्वन्द्वकै कारण रद्ध गर्नुपर्ने अवस्था आएको हो । 

 

वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध सुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नुपर्ने स्थिति बनेको हो । 

 

बिस्खाम खोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्न गाउँपालिकाको कार्यालयमा भएको द्विपक्षीय बैठकले बिस्काम खोला मुहान भएको एँेसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

 

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तवीर तामाङ तथा निवेदकका तर्फबाट वडा सदस्य जयकुमार तामाङलगायतबीचको छलफलले ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णयमा सहमति जनाएको छ ।

 

उक्त आयोजना रद्ध गर्न कार्यपालिकाको बैठकबाटै निर्णय गरेर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र अन्य सरोकारवालालाई जानकारी दिने लिखित सहमति भएको छ । 

 

वडाध्यक्ष तामाङले मनोमानी ढंगले बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट स्थानीयले गत ४ चैतमा वडा कार्यालयमा ताला लगाएका थिए ।

 

छलफलमा बिस्काम खोला मुहान भएको खानेपानी योजना रद्ध गर्ने निर्णय भए पनि स्वीकृत योजना सञ्चालनका लागि मुहानको विकल्प खोजिने गाउँपालिका अध्यक्ष निरौलाले बताए । विवाद बढेपछि बिस्काम खोला मुहानको खानेपानी योजना रद्ध गर्ने र बादेल–बिस्काम सडक उपभोक्ता समिति पुनर्गठनका लागि वडा कार्यालयलाई निर्देशन दिने प्रतिबद्धतासहित गाउँपालिकाले ताला लगाउने असन्तुष्ट पक्षलाई १४ चैतमा पत्राचार गरेको थियो । 

 

स्रोतका अनुसार दुवै जना कांग्रेसबाट निर्वाचित भए पनि वडाध्यक्ष सन्तवीर र वडा सदस्य जयकुमारबीचको द्वन्द्वको असर वडाको योजनामा समेत देखिएको हो । तामाङद्वय समन्वय र सहमतीको बाटो खोज्नुको सट्टा एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा समेत उत्रिएका थिए । 

 

शनिबार बाकाचोलमा बोलाइएको भेलामा दुवै पक्षबीच ढुंगा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर जाने सम्भावनाकै कारण सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐँसेलुखर्क पुगेको थियो । 

 

ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहलमा माथिल्लो खानेपानी योजनाको काम अघि बढाइएको हो । बाकाचोलसहित ऐँसेलुखर्क गाउँपालिकाको वडा नम्बर ३ एँेसेलुखर्क र वडा नम्बर ७ माक्पासम्म खानेपानी विस्तार गर्न डिपिआर तयार पारिएको आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमार्फत चालू आर्थिक वर्ष ५० लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

 

सोलुखुम्बुमा पर्ने दियाले खोला र बिस्खाम खोलामध्ये बिस्खाम खोलाको पानी विस्तारका लागि डिपिआर गरिएको थियो । तर, बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा ४ करोड रुपैयाँको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत् आयोजनालाई असर पर्ने, साविकको बाकाचोल वडा नम्बर २ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने असन्तुष्ट पक्षले बताउँदै आएको छ ।

 

वडाध्यक्ष तामाङले भने बिस्काम खोलाको खानेपानी अन्यत्र लैजान स्वीकृति नदिएको दाबी गर्दै आएका छन् ।

 

बैठकमा संसदीय विकास कोषको १० लाख रुपैयाँ बजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौता रद्ध गरी वडा सदस्य तामाङ र डम्बरकुमारी राईको रोहवरमा अर्को उपभोक्ता समिति गठन गर्ने र सम्झौता गरेर सडक निर्माण अघि बढाउने, गत ४ चैतमा वडा कार्यालयमा लगाइएको ताला सोमबारकै मितिबाट खोल्ने र आगामी दिनमा कुनै पक्षबाट कमी–कमजोरी नदोहोर्‍याउने सहमति भएको छ ।