close

‘सम्पदा संरक्षण महानगरको पहिलो प्राथमिकता’

‘सम्पदा संरक्षण महानगरको पहिलो प्राथमिकता’

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालभित्र महानगरभित्रका सम्पदा निर्माण–पुनर्निर्माण सम्पन्न हुने दाबी गरेका छन् । नेवाः देय दबू काठमाडौं जिल्ला समितिले गरेको सम्मान ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

 

भूकम्पबाट क्षति भएका सम्पदा धमाधम पुनर्निर्माण भएको मेयर शाक्यको भनाइ छ । भोलिका पुस्ताले आफ्नो संस्कृति, संस्कार र जात्रा–पर्वबारे गौरव गर्दै त्यसको संरक्षण गर्न सकून् भन्ने उद्देश्यले स्थानीय भाषाको पठनपाठन सुरु गरेको उनले जानकारी दिए ।

 

शाक्यले भने, ‘हामीलाई विदेशबारे थाहा हुन्छ तर बसेको ठाउँ, मानिआएका जात्रा–पर्व, संस्कृति–संस्कारबारेमा व्याख्या गर्न सक्दैनौँ ।’ 

 

भोलिका पुस्ताले काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, प्रमुख जाति, जनजीवन, कला, खानपान, भाषा, लिपि, परम्परागत खेलजस्ता विषयको जानकारी होस् भनेर पाठ्यपुस्तकमा ती विषय समेटिएको उनले जानकारी दिए ।

 

बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञानसीपबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रम बनाएको शाक्यको भनाइ छ । 

 

नेवाः देय दबू काठमाडौं जिल्ला समितिका अध्यक्ष मचाराजा महर्जनले काठमाडौं जिल्ला समितिको तर्फबाट मेयर शाक्यलाई महानगरभित्रका कक्षा १ देखि ८ सम्मका विद्यालयमा स्थानीय पाठ्यक्रममार्फत स्थानीय पहिचान स्थापित गर्ने गरी पठनपाठन गर्ने साहसिक कदमको अगुवाइ गरेको भन्दै कदरस्वरूप सम्मान गरिएको जानकारी दिए । 

 

‘मूर्त, अमूर्त सम्पदा संरक्षण गर्ने काठमाडौं महानगरको प्राथमिक योजना हो’, शाक्यले भने, ‘सम्पदा निर्माण, पुनर्निर्माण कतै छुटेको भए जानकारी दिनुस् । हामी सहयोग गर्न तयार छौँ ।’ 

 

शाक्यले ५ वर्षभित्र सबै सम्पदा निर्माण, पुनर्निर्माण सम्पन्न गरेर मात्रै बिदा हुने प्रतिबद्धता व्यक्त गरे । कतिपय ठाउँमा गुठिया–गुठियारकै विवाद र पुरातत्त्वका कारण समस्या भएको उनको भनाइ छ ।


 
‘राज्यले बनाइदियो भने राज्यले नै लिने हो कि भन्ने मनोविज्ञानका कारण कतिपय ठाउँमा समस्या छ । निर्माण सम्पन्न गरेपछि पहिलादेखि नै गुठियारले जात्रा, चाड, पर्व परम्पराअनुसार जसरी सञ्चालन गरिरहेका छन् उनीहरूलाई नै हस्तान्तरण गरिनेछ’, उनले भने, ‘त्यसमा कुनै अलमल नहोस् । बजेट सुनिश्चितता हामी गर्छौं । संरक्षणको जिम्मा तपार्ईंहरूको हो ।’

 

काष्ठमाण्डप महानगरको आर्थिक सहयोगमा १८ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको उनले जानकारी दिए ।