close

रूपन्देहीमा गठन भयो पशुपक्षी तथा मत्स्य विकास सञ्जाल

रूपन्देहीमा गठन भयो पशुपक्षी तथा मत्स्य विकास सञ्जाल

Trulli
ADVERTISEMENT

रूपन्देही– कृषि क्षेत्रमा व्यावसायिक सूचना प्रवाहलाई सहजीकरण गर्ने र सरकारी योजना किसानसम्म पुर्‍याउने उद्देश्ले रूपन्देहीमा पशुपक्षी तथा मत्स्य विकास सञ्जाल गठन गरिएको छ । 

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा किसान र कृषि व्यवसायीको जिल्लास्तरी सञ्जाल गठन गरिएको हो ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख संयोजक र विज्ञ केन्द्रका प्राविधिक सदस्य सचिव रहने गरी १३ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

 

विज्ञ केन्द्र प्रमुख डा.परवेज अलामका अनुसार पशुपक्षीपालक किसान र व्यवसायीलाई समेटेर सञ्जाल बनाइएको हो । सञ्जालका सदस्यमा मत्स्यपालकबाट दिवाकर भुसाल, दुग्ध सहकारीबाट लेखनाथ पाण्डे, व्यावसायिक कृषकबाट यज्ञमूर्ति खनाल, निजी डेरीबाट दयानिधि गैरे चयन भएका छन् ।

 

यस्तै, बाख्रा व्यवसाय उद्यमीबाट सुनील अर्याल, घाँस विकास क्षेत्रबाट प्रेमसागर पौडेल, ह्याचरीबाट वासु बडाल, बंगुर व्यवसायीबाट महेश बुढाथोकी, भैँसीपालन व्यवसायीबाट रामअवतार यादव, लुम्बिनी विशिष्टीकृत सहकारी संघबाट ज्ञानु पौडेल र पाराभेटबाट उत्तम नेपाल सञ्जालको सदस्य चयन भएका छन् ।

 

कृषि क्षेत्रमा लागेका सबै व्यवसायीको प्रतिनिधित्व हुने गरी सञ्जाल गठन गरिएकाले कृषि तथा किसानका समस्या पहिचान, समाधान, सरकारी योजना कार्यान्वयन र किसानसम्म पुर्‍याउन सहयोग पुग्ने आलमको धारणा छ ।

 

जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले सञ्जालले किसानबीच एकीकृत भावनाको विकास गर्न र व्यवसायमा आइपर्ने समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।