close

केन्द्रमा जे भए पनि प्रदेशमा सहकार्य  : मुख्यमन्त्री पोखरेल

केन्द्रमा जे भए पनि प्रदेशमा सहकार्य  : मुख्यमन्त्री पोखरेल

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केन्द्रीय राजनीतिमा जे घटना भए पनि प्रदेशमा सहकार्यको संस्कृति विकास भएको बताएका छन् ।

 

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बैठकमा बोल्दै पोखरेलले सांसदमा दलीय दृष्टिकोण प्रकट भए पनि विकास र सुशासनमा एक हुने बताए ।

 

‘राष्ट्रिय राजनीतिमा जे घटना घटे पनि लुम्बिनी प्रदेशमा सहकार्यको संस्कृति निर्माण गर्दै आएका छौँ’, मुख्यमन्त्रीले भने ।

 

प्रदेश पूर्वाधार प्राधिकरणसम्बन्धी विधेयक दफावार छलफलका लागि पेस गर्न रोस्ट्रममा पुगेका पोखरेलले पछिल्ला राष्ट्रिय घटनाक्रमबारे धेरै बोलेनन् । ‘म यो विषयमा आज केही बोल्ने पक्षमा छैन । समयक्रममा आफ्ना धारणा राख्नेछु र विषयवस्तुलाई स्पष्ट पार्ने प्रयास गर्नेछु’, पोखरेलले 
भने ।


प्रदेश पूर्वाधार प्राधिकरणसम्बन्धी विधेयक पेस गर्दै मुख्यमन्त्रीले छैटौँ अधिवेशनमा प्रदेशसभाबाट राजधानी र नामकरण तयर गरेर लुम्बिनी प्रदेशले संघीयतालाई गहिरोसँग आत्मसात् गरेको दाबी गरे । 


कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले आफ्नो कित्ता स्पष्ट गर्न माओवादी केन्द्रका सांसदलाई आग्रह गरे । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता कनौडियाले सरकारमा पनि बस्ने र विरोध पनि गर्न नसुहाउने बताए ।


‘पार्टी फुटिसकेको छ । अब कित्ताकाट गर्नुस् । आफूलाई स्पष्ट पार्नुस् । २ वटा डुंगामा खुट्टा राख्न पाइँदैन’, उनले भने, ‘मुख्यमन्त्रीलाई फाल्न सक्नुहुन्छ भने फाल्नुस् । हामी सहकार्य गर्न तयार 
छौँ ।’


प्रदेशसभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकारमा 
रहने–नरहनेबारे छिट्टै टुंगोमा पुगिने जानकारी दिए । ‘अहिले हामी २०७४ को जस्तै वाम गठबन्धनको पोजिसनमा छौँ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा केन्द्रमा पनि छलफल गरेका छौँ । प्रदेशमा पनि छलफल चलाउँदै छौँ,’ उनले भने ।