close

नमोबुद्धको नवौँ नगरसभा: वार्ता समितिलाई अधिकार प्रत्यायोजन

नमोबुद्धको नवौँ नगरसभा: वार्ता समितिलाई अधिकार प्रत्यायोजन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाको नवौँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरपालिकामा इँटा उद्योग विस्थापनपछि उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न आह्वान गरिएको नगरसभा बैठकले काभ्रे इँटा उद्योग संघसँग वार्ता गर्न गठन गरिएको वार्ता समितिलाई अनुमोदन गरेको छ । 

 

बैठकले वडा नम्बर ५ का वडाध्यक्ष बुद्धसिं तामाङको संयोजकत्वमा गठित इँटा उद्योग व्यवस्थापन वार्ता समितिलाई वार्तामार्फत इँटा उद्योगका समस्या समाधान गर्ने उद्देश्यअनुरूप आवश्यक पर्ने सबै अधिकार प्रत्यायोजनसमेत गरेको छ ।

 

नमोबुद्धको वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामाले वार्ता समिति अनुमोदन र अधिकार प्रत्यायोजनका लागि पेस गरेको प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए । 

 

अब वार्ता समितिले नगर कार्यपालिकाले तोकेको कार्यसर्तका आधारमा इँटा उद्योगसम्बन्धी समस्यालाई दिगो रूपमा समाधान गर्न, उद्योगीले २७ पुस २०७५ मा गरेको प्रतिबद्धताअनुसार २८ पुसमा जिल्ला समन्वय समितिमा गरेको करार सम्झौता कार्यान्वयन गर्न र वातावरणमैत्री एवं उद्योगमैत्री नगर स्थापना गर्न तत्कालै वार्ता प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।

 

वार्ता प्रक्रियामार्फत समस्या समाधान हुन नसके अन्य विकल्प खोजीका लागिसमेत नगरसभाले कार्यपालिकालाई अधिकार प्रत्यायोजन गरेको छ । वार्ता समितिमा वडाअध्यक्षहरू सञ्जीव ढकाल, कुलप्रसाद न्यौपाने, धर्मसिं लामा र रामकृष्ण उपाध्याय सदस्य छन् । 

 

नमोबुद्ध नगरपालिकाले नगरपालिकामा रहेका इँटा उद्योग विस्थापन गर्न २८ पुस २०७५ मा भएको नगरपालिका र उद्योगीबीचको करार सम्झौता कार्यान्वयनका क्रममा ८ र ९ भदौ २०७६ मा उद्योग विस्थापन गरेको थियो । 

 

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा इँटा उद्योग सञ्चालनमा आउन लागेपछि यसबारे छलफल र आवश्यक निर्णयका लागि नगरपालिकाको नगरसभा बैठक आह्वान भएको हो । 

 

नगरसभा बैठकमा वडा नम्बर २ का अध्यक्ष एवं वार्ता समितिका सदस्य सञ्जीव ढकालले समसामयिक विषय तथा इँटा उद्योग सम्बन्धमा हालसम्म भएका निर्णय प्रस्तुत गरेका थिए ।

 

यस्तै, वडा नम्बर ६ का अध्यक्ष एवं वार्ता समिति सदस्य कुलप्रसाद न्यौपाने र वडा नम्बर १० का अध्यक्ष एवं वार्ता समितिका सदस्य रामकृष्ण उपाध्यायले इँटा उद्योगीसँग भएको अनौपचारिक वार्ता तथा छलफलबारे जानकारी प्रस्तुत गरे ।

 

वडा नम्बर ५ का अध्यक्ष एवं वार्ता समिति संयोजक बुद्धसिं लामाले सभा सदस्यले उठाएका विविध विषयसहित वार्ता प्रक्रियाका विषयमा जानकारी दिए । 

 

नगरसभा बैठकमा वडा नम्बर ३ का अध्यक्ष रामशरण हुमागाईंले विगतमा भएका सम्झौताको कार्यान्वयनसहित विकल्पका विषयमा छलफल गर्नुपर्ने बताए । नगरसभा सदस्यद्वय कल्पना सत्याल र भवमान तामाङले वातावरणमैत्री नगर निर्माणको अभियानबाट पछि हट्न नहुने धारणा राखे ।