close

मियो ढलेपछिको अँध्यारो भविष्य !

मियो ढलेपछिको अँध्यारो भविष्य !

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश तिङरिङका उज्ज्वल थापा १० वर्षका भए । रेशको नुन्थलामा दिनभर डुलेर साँझ परेपछि आसपासका गाउँ चहार्ने उनको अभिभावक कोही छैन । उज्ज्वल अहिले मागेर जीवन धानिरहेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानवमुक्त देश बनाएको भन्दे हरेक कार्यक्रममा उपलव्धि सार्वजनिक गरिरहन्छन् । तर बागलुङ आइपुग्ने जो कोहीलाई अँध्यारो भविश्य बोकेर बाँचिरहेका उज्ज्वलको जीवनले प्रधानमन्त्रीको ‘उपलव्धि भाषण’लाई गिज्याइरहेको छ । 


दिनभर रेश नुन्थला मावि आसपासका पसलमा डुल्ने उज्ज्वलको साँझ परेपछि रात काट्ने ठाउँ नै छैन । जसको घर भेट्छन्, त्यही शरण लिन्छन् । 

 

३ वर्ष पहिलासम्म भरिभराउ उनको परिवार एकाएक उजाडिएपछि अभिभावकविहीन बनेका हुन् । ‘बस्ने थाहा छैन्, दिए खान्छु,’ नुन्थलाको कस्मेटिक पसलमा भेटिएका उनले भने, ‘दिदी बागलुङ बस्छे । अरू कोही छैन ।’ 

 

उज्ज्वलको जन्म भएको केही महिनामै बाबु लालबहादुर थापाको मृत्यु भयो । उनीभन्दा पहिला एक दाजु र दिदी थिए । परिवारको मियो ढलेपछि उज्ज्वलको परिवारमा वज्रपात पर्‍यो ।

 

बाबुको मृत्यु हुँदा ११ वर्ष पुगेका दाजु उत्सव र आमा मिलेर घर चलाइरहेका थिए । ३ वर्ष पहिला दाजु उत्सवको पर्वतमा भएको ट्रयाक्टर दुर्घटनापछि उनी एक्लिएका हुन् । 

 

‘दाजुको मृत्यु भएपछि आमाले छाडेर हिँडिन,’ उनको परिवारबारे जानकारी राख्ने रेशकी स्थानीय रचना थापाले भनिन्, ‘घर पनि रहेनछ । कहिले हाम्रोमा बस्छ, कहिले गाउँमा जान्छ, न बस्ने ठेगान छ, न त खान ।’

 

दाजुको मृत्युपछि आमाले अर्कैसँग बिहे गरिन् । आमाले छाडेपछि ११ वर्षीया दिदी र उनी एक्लिए । परिवारबाट एक्लिएर सडकमा आएकी दिदीलाई सामाजिक अभियन्ता मनीष रायमाझीले बागलुङ बजारको सडकमा भेटेका थिए ।

 

उनैले मानव सेवा आश्रममा पु¥याएपछि दिदी उषा अहिले मानव सेवा आश्रम बागलुङमा बस्छिन् । उत्सव रेश नुन्थला माविमा पढ्थे । कहिले सडक र कहिले गाउँले घरमा शरण लिएर बस्ने उज्ज्वल पछिल्लो समय विद्यालयसमेत जानै छाडेका छन् । ‘विद्यालय जानै मान्दैन । आमाले बिहे गरेको ठाउँमा जान्छ तर बस्न दिँदैनन् भन्छ,’ थापाले भनिन्, ‘यसको आफ्नो भन्ने कोही रहेनन् ।’ 

 

आफन्तले बेवास्ता गर्ने गरेको उज्ज्वल सुनाउँछन् । खाना र बासको खोजी गरेर आमा रहेको ठाउँमा पुग्दा कुटपिट गर्ने गरेको उनले बताए । आफैं आफ्नो सरसफाइ गर्न उनी सक्दैनन् । फोहोर कपडा लगाएको देख्ने साथीहरूले गिज्याउँदा विद्यालय जान मन नलागेको उनको भनाइ छ ।

 

उज्ज्वलका आफन्तलाई राखेर पटक–पटक संरक्षण गर्न आग्रह गरिए पनि जिम्मेवार नबनेको वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘आमाले दोस्रो बिहे गरेको श्रीमान्समेत आफन्तै पर्ने भएकाले परिवारको जिम्मेवारी बोध गर्न भनेका थियौँ,’ लामिछाने भन्छन् ‘मदिरामा लठ्ठिएपछि उसलाई घरबाट निकाल्दा रहेछन् ।’

 

उज्ज्वललाई अभिभावकत्व दिलाउन मानव सेवा आश्रमसँग कुरा भइरहेको उनले जानकारी दिए ।  वडा कार्यालयले सिफारिस गरेर पठाएपछि मात्रै उज्ज्वललाई आश्रममा राख्न सकिने आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् । आश्रममा बालबालिकालाई राख्ने कक्षको समस्या रहेको उनको भनाइ छ ।