close

महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ बन्दै

महोत्तरीको गौशालामा ‘उद्योग ग्राम’ बन्दै

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकामा ‘उद्योग ग्राम’ बन्ने भएको छ । गौशालामा पहिलो ‘उद्योग ग्राम’ निर्माणका लागि गौशाला नगरपालिका तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच लिखित सम्झौता भएको गौशालाका मेयर शिवनाथ महतोले जानकारी दिए ।

 

उद्योग ग्राम निर्माणका लागि उद्योग मन्त्रालयका सह–सचिव बलराम रिजाल र गौशाला नगरपालिकाका मेयर महतोले  सम्झौतामा हस्ताक्षर गरे ।

 

नगरपालिकाले ६ महिनाअघि उद्योग ग्राम निर्माणका लागि डिपिआर तयार गरी उद्योग मन्त्रालयमा बुझाएको थियो । 

 

उद्योग ग्रामको पूर्वाधार निर्माणमा ३३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘पहिलो चरणमा उद्योग ग्राम निर्माणका लागि उद्योग मन्त्रालयले ९२ लाख रुपैयाँ गौशाला नगरपालिकाको खातामा पठाएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले भने ।

 

नगरपालिकाको वडा नम्बर ८ बेलगाछीस्थित सोनी खोला नजिकै रहेको १२ बिघा सार्वजनिक जग्गामा उद्योग ग्राम निमार्णका लागि औपचारिक हस्ताक्षर भएपछि स्थानीयले खुसी व्यक्त गरे ।

 

असार मसान्तभित्रै उद्योग ग्रामका लागि प्रस्तावित जग्गाको घेराबार, प्रशासनिक तथा सुरक्षा भवन निर्माण, विद्युुत् व्यवस्थापन, सञ्चार, बाटोघाटो, स्वास्थ्य चौकीलगायत उद्योग ग्रामलाई चाहिने आधारभूत पूर्वधार निर्माण गर्न सार्वजनिक बोलपत्र आह्वान गरिने नगरप्रमुख महतोले जानकारी दिए ।

 

पूर्वशिक्षामन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद गिरिराजमणि पोखरेलको पहलमा गौशालामा उद्योग ग्राम निर्माण हुन लागेको हो ।

 

उद्योग ग्रामको सबै पूर्वधार निर्माण भएपछि उद्योग सञ्चालन गर्न चाहने उद्योगीलाई नगरपालिकाले जग्गा उपलब्ध गराउनेछ । जग्गा उपलब्ध गराएबापत उद्योगीले नगरपालिकालाई तोकिएअनुसार कर तिर्नुपर्नेछ ।