close

मेलमिलापकर्ताको क्षमता बढाउँदै खोटेहाङ

मेलमिलापकर्ताको क्षमता बढाउँदै खोटेहाङ

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम सुरु गरिएको छ ।

 

गाउँमा देखापर्ने विवाद सोही ठाउँमै हल गर्न छानिएका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धिसम्बन्धी ४८ घन्टाको पुनर्ताजगी तालिम सुरु गरेको हो । 

 

बुधबारदेखि सुरु गरिएको तालिममा ९ वडाका ३÷३ जनाका दरले २७ मेलमिलापकर्ता, न्यायिक समितिका ३ जना पदाधिकारी, २ जना कर्मचारी र ९ वटै वडाका वडाध्यक्ष गरी ३१ जना सहभागी छन् । पालिकाको सभाहलमा आयोजना गरिएको ८ दिने तालिम गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे । 

 

स्थानीय स्तरमा न्यायिक प्रणालीलाई सहज र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्रत्येक वडामा ३÷३ जना मेलमिलापकर्ता तयार पारेर २६ फागुन २०७५ देखि ३ चैतसम्म क्षमता अभिबृद्धि तालिम आयोजना गरेको थियो । 

 

तिनै मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले पुनर्ताजगी तालिम आयोजना गरेको हो । वडामा छानिएका मेलमिलापकर्ताले पारिवारिक विवाद, लेनदेन, जग्गा–जमिनजस्ता देवयानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायत फौजदारी मुद्दा, व्यापार वा व्यावसायिक प्रकृतिका जुनसुकै विवादलाई मेलमिलापको माध्यमबाट टुंग्याउन भूमिका निर्वाह गरिरहेका छन् ।

 

तालिममा सहभागीलाई द्वन्द्व÷विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्त्व, मेलमिलापकर्ताको भूमिका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रक्रियालगायत विषयमा जानकारी दिइने खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कविता राईले बताइन् ।

 

तालिममा मानव अधिकार मञ्च इलामका सहजकर्ता शेखरनाथ सापकोटा र ईश्वर लुंगेली मगरले सहजीकरण गरिरहेका छन् । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य दिएका थिए ।