close

नगरपालिकाले बनायो ‘बिजुली घर’

नगरपालिकाले बनायो ‘बिजुली घर’

Trulli
ADVERTISEMENT

ओखलढुंगा - स्थानीय सरकारसँगको साझेदारीमा जिल्लामै पहिलो पटक बल्ब उत्पादक उद्योग सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका र स्थानीय उद्यमीको सहकार्यमा बल्ब उत्पादनका लागि ग्रामीण बिजुली घर सञ्चालनमा आएको हो ।


स्थापित उद्योगबाट बल्ब उत्पादन सुरु भएको छ । सिद्धिचरण नगरपालिका वडा– ७ बिगुटारमा एलईडी बल्ब उत्पादन उद्योग स्थापना गरिएको हो । नगरपालिकाको अनुदान सहयोग र ७ नम्बर वडा कार्यालयको पहलमा स्थानीय यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन् ।


अहिले वडाको पहलमा नगरपालिकाको १ लाख अनुदान र दाहालको २ लाख लगानीमा ग्रामीण बिजुली घर उद्योग सञ्चालनमा आएको छ । परीक्षणका रुपमा उद्योगमा दैनिक ५० वटा बल्ब उत्पादन भइरहेका छन् ।


उद्योगको क्षमता बढाउने र बजारीकरण गर्न वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष बमबहादुर राईले जानकारी दिए ।  उद्योगमा प्याकेजिङ खोल नभएका कारण बजारमा लैजान समस्या छ । बल्बको खोल निर्माण पनि थालिसकिएको वडाध्यक्ष राईले बताए ।


जिल्लामा बिजुलीको बल्ब आयत मात्रै हुने भएकाले स्थानीय स्तरमै उत्पादन भएपछि लागत कम पर्ने व्यवसायी बताउँछन् । जिल्लालाई बिजुलीको बल्बमा आत्मर्निभर बनाउन उद्योग स्थापना गरिएको वडा अध्यक्ष राई सुनाउँछन् ।  हाल बल्ब उत्पादनका लागि एउटा मात्रै मेसिन खरिद गरिएको छ । जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेसिन राखेर उत्पादन बढाउन सकिने उद्योग सञ्चालक यदुनाथ दाहालको भनाइ छ । 


ग्रामीण बिजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग हो । उद्योगमा काम गर्ने कामदारलाई तालिममा पठाएर तालिम लिएर आएका कामदारबाट उत्पादन सुरु भएकाले यसको दिगोपनामा शंका नरहेको उद्योग सञ्चालकको दाबी छ ।