close

कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम: २ वर्षमा १८ जनाको अकाल मृत्यु

कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम: २ वर्षमा १८ जनाको अकाल मृत्यु

Trulli
ADVERTISEMENT

सुर्खेत (बीरेन्द्रनगर) – सुर्खेतदेखि दैलेख, कालीकोट हुँदै जुम्ला पुग्ने कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । राजमार्ग साँघुरो हुनु, मर्मत नगरिनु र सवारी चाप बढी भएपछि बर्सेनि दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको हो । 

 

सडक साँघुरो र मर्मत नहुँदा बर्सेनि यात्रुहरूले सास्ती भोग्दै आएका छन् भने हजारौँ घाइते र केहीको ज्यानसमेत गएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार २ आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ जनाको मृत्यु भइसकेको छ । 

 

आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा २ वटा टिपर र ट्रक, ६ वटा बस, ६ वटा जिप कार, टयाक्टर ४ वटा २ वटा अटो, टेम्पो र ७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । 

 

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यीमध्ये ४ वटा ट्यांकर, एउटा बस, ७ वटा जिप–कार, एउटा ट्रयाक्टर, २ वटा अटो टेम्पो, एउटा मोटरसाइकल गरी १६ वटा सवारीसाधन दुर्घटनाग्रस्त भएका छन् । 

 

२ वटै आर्थिक वर्षमा ४४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटना हुनेमा जिप र कारको संख्या धेरै रहेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए । 

 

कर्णाली राजमार्गमा बर्सेनि दुर्घटनाको संख्या बढ्दै गए पनि सरोकारवाला निकायले सडक मर्मतमा चासो नदिएको यात्रुको गुनासो छ । ३० चैत २०६३ बाट सञ्चालनमा आएको कर्णाली राजमार्गको लम्बाइ २३२ किलोमिटर छ । ‘बाटो साघुँरो भएका कारण यो राजमार्गमा यात्रा गर्नेको मुटु नझस्किने सायद कमैको होला’, कोहलपुरबाट दैलेख जाँदै गरेका वीरेन्द्र चौधरीले भने, ‘यात्रा गर्दा पनि घर पुग्छु भन्ने विश्वास लाग्दैन । होसहवासै हराउँछ ।’

 

कर्णाली राजमार्गबारे अरूले कुरा गरेको सुने पनि आफैंले भोग्दा डर लागेको चौधरीले बताए । ‘पहिले कर्णाली राजमार्गको नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने, ‘प्रत्यक्ष आफैंले यात्रा गर्दा त ज्यानै जाला भन्ने डर लाग्यो ।’

 

पछिल्लो समय सडकको अवस्था केही सहज भए पनि साघुँरो बाटो र पहाडको ठाउँ भएकाले जोखिम उत्तिकै रहेको दैलेखका नरेन्द्र कठायत बताउँछन् । ‘कर्णाली राजमार्गमा चल्ने गाडी साघुँरो सडकका कारण बर्सेनि दुर्घटनामा परिरहन्छन्,’ कठायतले भने, ‘दुर्घटनाको जोखिम कम गर्न सडक फराकिलो बनाउन सरकारको ध्यान जान जरुरी छ ।’

 

कर्णाली राजमार्गम फोर्स गाडी चलाउन थालेको ३ वर्ष भए पनि ढुक्कसँग घर पुग्छु भन्ने विश्वास नलाग्ने दैलेखका शिव थापाले सुनाए । कर्णाली राजमार्गका लागि प्रदेशबाट कुनै कार्यक्रम नरहेको र यो संघीय सरकारले हेर्ने भएकाले यस विषयमा कुनै जानकारी नभएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।