close

रारा तालः पर्यटक  बढे, पानी भने घट्यो 

रारा तालः पर्यटक  बढे, पानी भने घट्यो 

Trulli
ADVERTISEMENT

मुगु– मुलुककै सुन्दर पर्यटकीय गन्तव्य र कर्णाली प्रदेशको रारा तालमा यो वर्ष पानीको सतह घटेको छ । विगत वर्षमा हिउँदको समय अत्यधिक हिमपात र अकासे पानी धेरै परेकामा यो वर्ष कम परेपछि पानीको सतह घटेको हो ।

 

तालको छेउछाउ रहेका तालभन्दा माथिबाट बगेर आउने दर्जनौँ पानीका मुहान सुकेको र जलवायु परिवर्तनका कारण असर गर्त वर्षभन्दा यो वर्ष रारा तालको सतहको पानी घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

 

समुद्र सतहदेखि २९ सय मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर मिटर, गहिराइ १६७ मिटर रहेको छ । 

 

वरिपरि हरियाली वनजंगलले ढाकेको, अग्ला हिमाल, डाँडाकाँडाले शृंगारिएको, कपासजस्तै टलक्क टल्किने, दिनमा ३ पटक रङ फेरिरहने नेपालकै ठूलो रारा तालमा पछिल्लो समय पानीको मुहान सुक्दै जाँदा पानी घटेको हुन सक्ने उनको अनुमान छ । 

 

‘बच्चादेखि नै धेरै पटक राराको फेरो लगाइँदै छ । यो वर्ष विगत वर्षभन्दा तालको सतहको पानी घटेको देखिन्छ । तालको किनारमा माथिबाट बगेर आउने २०–२२ वटा स–साना पानीका खोला पनि सुकेका छन् । यसो हुनुमा यो वर्ष हिउँ कम परेकाले हो’, छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका स्थानीय युवा प्रकाश शाहीले बताए । 

 

रारामा १ सय ११ पटक रारा घुम्न आए पनि अहिले तालको पानी घटेको देखिएको उनको भनाइ छ । जथाभावी सडक निर्माण गर्दा खानेपानीको मुहान सुक्न, जथाभावी जंगल फडानी गर्दा वर्षा कम हुने हुँदा यो वर्ष रारामा पानी घटेको देखिएको कनकासुन्दरी वडा नम्बर ५ जुम्लाका आन्तरिक पर्यटक महेन्द्र हमालले बताए ।

 

‘पहिलाभन्दा अहिले रारा ताल वरपरको सौन्दर्यमा केही फरक देखिएको छ । तालमा पानीको सतह घटेको छ । केही पूर्वाधार निर्माण भएका छन् । फोहोर व्यवस्थापनमा पनि सुधार आएको छ । तर, रारा घुम्न आउने आन्तरिक तथा बाह्यय पर्यटकले खानपिनका लागि ल्याएका केही सामानबाट निस्कने फोहोरलाई सही ठाउँमा प्रयोग गर्न सकिने देखिँदैन,’ कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बालरोग विशेषज्ञ डा. कमलप्रसाद थानी भन्छन् । 

 

रारा तालमा राखिएको पानी मापन यन्त्रमा अधिकतम ९ र न्यूनत शून्य हुनुपर्नेमा १ प्रतिशतभन्दा केही माथि छ । राराको पानी निकास हुने पश्चिमपट्टि रहेको निजार खोलाबाट थोरै मात्र पानी निकास भएको स्थानीय सुनाउँछन् ।

 

रारामा भरिँदै पर्यटक 

 

यतिबेला रारामा पर्यटकको चहलपहल उत्तिकै बढेको छ । पर्यटकले गर्दा रारा झनै मुस्कुराएकी छन् । यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ रारा बन्ने गरेको छ । चैत, वैशाख सुरु भएपछि यहाँ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

 

नामले मात्र सुनेको रारा प्रत्यक्ष देख्दा स्वर्गजस्तै लाग्ने पर्यटक सुनाउँछन् । रारा ताल जति पर्यटकको रोजाइमा परेको छ, उत्तिकै खाना, बास बस्नेको रोजाइमा भने पर्न सकेको छैन । 

 

रारामा पछिल्लो समय दैनिक २ सयभन्दा बढी आन्तरिक पर्यटक आउन थालेपछि तालको किनारमा रहेको राष्ट्रिय निकुञ्जको क्यान्ीिनलाई डाँफे गेस्टहाउसको नाममा परिवर्तन गर्दा पर्यटकलाई झनै सास्ती भएको छ । 

 

रारा तालमा एउटा मात्र होटल हुनु र त्यस होटलमा पनि उपयुक्त ढंगको व्यवस्थापन नहुनु, खाना खान लाइन लाग्नुपर्ने अवस्था रहेको बुटवलबाट पहिलो पटक रारा घुम्न आएकी शोभा शाक्यले बताइन् । उनले भनिन्, ‘ताल रमणीय रहे पनि बसाइमा समस्या रहेछ । व्यवस्थापन फितलो देखियो’, शाक्यले भनिन् ।

 

उनीसँगै रारा आएकी सुशीला तामाङको पनि उस्तै कथा छ । ‘रारा आयौँ, घुम्यौँ तर व्यवस्थापन फितलो हुँदा पर्यटकले सास्ती खेप्नुपर्ने अवस्था रहेछ ।’ 

 

रारा राष्ट्रिय निकुञ्ज मुगुका संरक्षण अधिकृत दाहालका अनुसार राराको किनार बाहिर माझघट, सल्यारी, लामाचौर, ताल्चा एयरपोर्ट, पिना ढुंगेधारा हुटुमा धेरै होटल भए पनि पर्यटकको रोजाइ राराको किनारमा हुने गरेको छ । हवाई र सडक मार्गबाट रारामा रमाउन आउने पर्यटकको संख्या बढे पनि सोहीअनुसारको व्यवस्थापन गर्न नसकिएको उनी स्वीकार्छन् । 

 

‘रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेका छन् । राराको किनारमा एक मात्र होटल छ । अन्य होटल नहँुदा राम्रो सेवा प्रवाह गर्न नसकेको हुँदा यसलाई गम्भीर रूपमा लिएका छौँ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा थप होटल सञ्चालन गर्ने तयारीमा छौँ । व्यवसाय सञ्चालन गर्न चाहनेलाई आग्रह गरेका छौँ’, दाहालले भने ।

 

८ महिनामा ४ हजार पर्यटक 


पछिल्लो ८ महिनामा रारामा आन्तरिक पर्यटक ४ हजार ४ सय ३९ जना नेपाली घुम्न आएका छन् भने विदेशी ७ जना मात्र रहेका छन् । यो आर्थिक वर्षको अन्त्यसम्म रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या करिब १२ हजार हुन सक्ने अनुमान गरिएको दाहालले बताए ।

 

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई उचित बासको व्यवस्था गर्न सकिने पर्यटक बढ्न सक्ने तनहुँबाट आएका रामचन्द्र अधिकारीले बताए ।