close

जुंगे दाइको सारंगी अर्थात लालपुर्जा

जुंगे दाइको सारंगी अर्थात लालपुर्जा

Trulli
ADVERTISEMENT

सुर्खेत (बीरेन्द्रनगर)– शिरमा विश्वकै उच्च सगरमाथाको चुचुरोजस्तै नेपाली ढाका टोपी । हातमा नेपालको राष्ट्रिय बाजा सारंगी । 

 

शरीरमा रातो उनको स्विटर लगाएका वीरेन्द्रनगरको वडा नम्बर ३ का गोर्खे गन्धर्व । लामो लामो जुंगा पालेकाले जुंगे दाइ भन्छन् सबैले । जुंगे दाइको कथा भने भनिनसक्नु छ ।

 

दिउँसोको उखरमाउलो गर्मी । सारंगीको मनै रेट्ने धुनका कारण हस्याङफस्याङ गर्दै गन्धर्व दाइसम्म पुगियो । गन्धर्व दाइले मनका वेदना सारंगीको तारमार्फत आँसु नै खस्ने गरी शब्दबाट ओकले । 


सल्यान टर्‍यो सल्यानतिर दाङ टर्‍यो दाङतिर यो दुःखीले गीत गाएको मन पर्‍यो कि परेन

अहिलेसम्म यो दुःखीलाई कसैले हेरेन
दुःखी मनको कुरा बुझ्यौ कि बुझेनौँ ।’

 

उमेरले ६५ पुगेका गन्दर्भ सधैँ यसरी नै दिनभरि बजारमा सारंगी रेटेर जीविका चलाउँदै आएका छन् । ‘७ पुस्तादेखि जग्गाजमिन, लालपुर्जा भन्ने छैन । सम्पत्तिका नाममा यही एउटा सारंगी हो । ५३ वर्षदेखि यही सारंगी बजाउँदै परिवार पाल्दै आएको छु’, उनले वेदान पोखे ।

 

उनका पुर्खाले पनि सारंगी रेट्दै गाउँघर चहारे लालाबाला पाल्दै आएका थिए ।  गोर्खे ४ वर्षको हुँदा आमा खसिन् । खाऊँ–खाऊँ लाऊँ–लाऊँ भनेर स्कुल जाने उमेरमा बुबाको पछिपछि झोला बोकेर जाने गोर्खेले १२ वर्षको उमेरमै आफैं बजाउन सिके । 

 

सानै उमेरमा बुबाको पनि मृत्यु भयो । बुबाको मृत्युपछि टुहुरा भए र सबै जिम्मेवारी गोर्खेमाथि आइलाग्यो । बिहान सबेरै निस्केर दिनभर गाउँमा सारंगी रेट्दै मानोमुठी ल्याएर आफ्नो र भाइबहिनीको पेटको आगो निभाउँथे । 


स्कुल पढ्ने उमेरमा बुबाको झोला बोकेर हिँडेको सम्झन्छन्, उनी । गोर्खेले भने, ‘बुबाले बजाएको देखेर मैले पनि बजाउन सिकेँ । पछि आमाको पनि मृत्यु भयो र केही समयपछि बुबाले पनि संसार छाडे । त्यसपछि भाइबहिनी हुर्काउने जिम्मेवारी मेरै काँधमा आयो ।’

 

पहिले–पहिले गाउँभरि डुल्दा १०–१५ पाथी अन्न हुन्थ्यो रे । ‘त्यो अन्न ट्रकमा बोकेर घरमा ल्याउँथेँ’, उनले भने, ‘अहिले गाउँभरि डुले पनि कसैले बुझ्दैनन् मेरो पीडा । मजस्तै पाका उमेरकाले बुझेर बोलाएर भए पनि दिन्छन् । अन्तै जाऊ भन्छन् । दिनभरि सारंगी रेट्दै जाँदा ३–४ सय रुपैयाँ पनि हुँदैन ।’

 

आफूहरूको पेसा लोप हुनै आँटेको उनले सुनाए । ‘पुर्खाले यही पेसा अँगालेर घरपरिवार चलाए । अहिले नयाँ पुस्ताका ठिटाहरू बजाउन मान्दैन् । उल्टै लाजसरम हुन्छ भन्छन् । यस्तो काम कसले गर्छ, दिनभरि डुलेर मानामुठी आउँदैन भन्छन् । मेरा छोराले ज्याला मजदुरीको काम गर्दै आएका छन्,’ उनले भने ।

 

पछिल्लो समय माथिल्ला जातकाले सारंगी बजाउन लाज मान्दैनन् तर गन्धर्व समुदायले चटक्कै बिर्सिएको उनको बुझाइ छ । गोर्खेका ३ छोरी र २ छोरा छन् । एउटी छोरीबाहेक सबैको बिहे भइसक्यो ।

 

छोराबाट उनले पनाति देखिसकेका छन् । दुवै छोरा सँगै बस्दैनन् । उनी भन्छन्, ‘पनाति देखिसक्दा पनि मेरा दुःख कम भएका छैनन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य आम्दानीको स्रोत केही छैन । २ जना बूढाबूढी र एउटा छोरीलाई पाल्ने सम्पत्ति नै सारंगी हो’, उनले वेदनाको पोको खोले ।

 

कोरोनाका कारण गरिएको लकडाउनले गोर्खेको परिवार कयौँ दिन भोकभोकै रात बिताउन बाध्य भयो । उबेला साहूबाट लिएको ऋण अहिलेसम्म तिर्न नसकेको उनले सुनाए ।