close

आवधिक योजना बुन्दै बेनी नगर 

आवधिक योजना बुन्दै बेनी नगर 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजना बनाउने प्रक्रिया अघि बढाएको छ । 

 

आवधिक योजना बनाउन छनोट भएको परामर्शदाता राईडिसी कन्सल्टेन्ट प्रालिले विषयगत समितिसँग तयार पारेको मस्यौदा प्रस्तुत गरेर सुझाव संकलन गर्न छलफल गरिसकेको छ । 

 

परामर्शदाता कम्पनीका प्रतिनिधिले नगरपालिकाको हालको अवस्था झल्कने तथ्यांक र त्यसलाई सुधारका लागि अपनाउनुपर्ने नीतिगत पहलको विषय प्रस्तुत गरेका थिए । 

 

नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक विकासका लागि दीर्घकालीन सोचले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि रणनीतिक आवधिक योजना बनाउन लागिएको हो । 


नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरूको सहभागिता रहेको छलफलमा नगरपालिकाको भौतिक पूर्वाधार, सामाजिक, वन वातावरण, प्रकोप, आर्थिक, वित्तीय एवं संस्थागत विकासको अवस्था, समस्या र त्यसलाई सुधार गर्न अपनाउनुपर्ने नीतिका विषयमा छलफल भएको थियो । 

 

छलफलमा परामर्शदाताका प्रतिनिधिले बेनी नगरपालिकामा कुल १६३ किलोमिटर सडक निर्माण भएकामा १० प्रतिशत कालोपत्रे, २० प्रतिशत ग्राभेल र ७० प्रतिशत कच्ची सडक रहेको तथ्यांक प्रस्तुत गरेका थिए । 


सहभागीले सडक मर्मत तथा स्तरोन्नति, खानेपानी सुविधा विस्तार, अधुरा क्रमागत योजनालाई निरन्तरता, नगर यातायात गुरुयोजना कार्यान्वयन, सीप र रोजगारमूलक शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार, विकास आयोजनालाई पारदर्शी, जनसहभागितामूलक र प्रभावकारी बनाउनुपर्ने सुझावएका थिए । 

 

आवधिक योजनालाई आधार मानेर बजेट, नीति तथा कार्यक्रम ल्याउने जनप्रतिनिधिले बताएका छन् । रणनीतिक योजनाअनुसार काम गर्न सजिलो हुने उनीहरूको अनुभव छ । जनप्रतिनिधि निर्वाचित भएको ४ वर्ष ढिला गरी बेनी नगरपालिकाले आवधिक योजना बनाउन लागेको हो ।