close

कमलको जरा बेचेरै लखपति

कमलको जरा बेचेरै लखपति

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुकुमकोटमा अवस्थित कमल दहमा पाइने नेपालमै दुर्लभ मानिने कमलको जरा बिक्रीबाट यो वर्ष मात्रै स्थानीयले लगभग १० लाख रुपैयाँ आम्दानी गरेका छन् ।


गत १८ माघदेखि १८ चैतसम्म निकालिएको जरा बिक्रीबाट स्थानीयले १० लाख रुपैयाँ बराबरको आम्दानी गरेका हुन् । 


कमल दहबाट हरेक वर्ष माघ तेस्रो सातादेखि चैत तेस्रो साता आसपास कमलको जरा निकाल्ने गरिएको छ । यसअघिका वर्षमा जसले पनि कमल निकाल्न पाउने र यसका लागि कुनै शुल्क नलाग्ने व्यवस्था भए पनि ३ वर्षयता भने स्थानीय सरकार सिस्नेले गाउँपालिकाले आम्दानी बढाउन ठेक्का लगाउन थालेको छ । 


यसबाट पालिकाको आम्दानी हुनुका साथै कमल संरक्षण पनि गर्न सकिने भएकाले निश्चित अवधिका लागि मात्र ठेक्कामार्फत कमलका जरा निकाल्न थालेको हो । 


यस वर्ष स्थानीय दिनेश शाहले तालमा कमलका जरा निकाल्नेबाट शुल्क उठाउने ठेक्का पाएका हुन् । शाहले गाउँपालिकालाई अग्रिम १ लाख १५ हजार रुपैयाँ बुझाइसकेको बताए । 


जरा निकाल्न शुल्क निर्धारण

कमलका जरा निकाल्न गाउँपालिकाले यो वर्ष पुरुषलाई ६ सय र महिलालाई ४ सय रुपैयाँको शुल्क निर्धारण गरेको थियो । २ महिने अवधिमा कमलका जरा निकालिएको शुल्कबाट १ लाख ५२ हजार ५ सय रुपैयाँ उठेको छ । 


यसमध्ये गाउँपालिकालाई १ लाख १५ हजार रुपैयाँ ठेक्का परिएको अग्रिम शुल्क तिरिएकामा जम्मा ठेक्काको आम्दानी ३७ हजार ५ सय रुपैयाँ मात्र भएको ठेकेदार शाहले जानकारी दिए । 


शुल्क तिरेर १ जनाले दैनिक ४ हजारदेखि १० हजार रुपैयाँसम्मको जरा निकालेर आम्दानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए ।


गाउँपालिकाले कमलका जरा निकाल्न शुल्क निर्धारणसहित जरा बिक्रीका लागि प्रतिकिलो ५ सय रुपैयाँ तोकिदिए पनि किन्ने व्यक्तिले मूल्य महँगो भएको बताएपछि जरा निकाल्नेले नै अनुमानित रूपले बिक्री गरेका थिए । 


१० लाख बराबरको कारोबार

यसरी सरदर हिसाब गर्दा २ महिनामा स्थानीयले गरेको आम्दानी जोड्दा लगभग १० लाख रुपैयाँको कमलको जरा कारोबार भएको निमित्त अधिकृत दाहालले बताए । वास्तविक कारोबार भएको थाहा पाउन मूल्य निर्धारण गरिएकामा बिनानापतौल अन्दाजी बिक्री भएकाले वास्तविक हिसाब भने नआएको दाहालको भनाइ छ ।


अब कमलले नयाँ टुसा हाल्न थाल्नुका साथै तालमा चराहरूले पनि गुँड बनाउने समय भएकाले जरा निकाल्न बन्द गरिएको निमित्त अधिकृत दाहालले सुनाए । 


जराको उपयोग

जन्डिस रोगको औषधी हुने विश्वास गरिएको कमल किन्न विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् । तालमा पौडिँदै खुट्टाले कमल भएको स्थान थाहा पाएपछि डुबेर त्यसको जरा अथवा डाँठ निकालिन्छ र उक्त कमललाई बिक्री गरिन्छ । 


कमलको जरालाई उसिनेर वा भुटेर अचार अथवा तरकारीको रूपमा प्रयोग गरिन्छ भने यसलाई चाना बनाएर घाममा सुकाएपछि वर्षैभरि अचारको रूपमा खान सकिन्छ । यहाँको कमल विदेशसम्म पनि पुग्ने गरेको छ ।