close

राराले चिनाउँदै सिंजाको गोठीज्यूला

राराले चिनाउँदै सिंजाको गोठीज्यूला

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको सिंजा उपत्यका आफैंमा पर्यटकीय गन्तव्य हो । यहाँ पौराणिक धार्मिक सम्पदा पर्याप्त छन् । रारा ताल पनि यसै उपत्यका हुँदै पुगिने भएकाले यहाँ पर्यटक बढिरहेका छन् ।


२०७६ चैतदेखि कोरोना संक्रमण फैलिएसँगै कर्णाली पर्यटकिय गन्तव्य रारा तालमा पर्यटक संख्या कम हुदै गएको थियो । तर, हाल रारा तालमा पर्यटक संख्या वृद्धि हँुदै छ ।


कर्णाली राजमार्गको नाग्म–गमगढी सडक खण्ड हुँदै पर्यटक रारा ताल पुग्ने गर्छन् । रारा आउने पर्यटकका लागि रारा तालमा व्यवस्थित बासस्थान व्यवस्थापन नहुँदा सिंजाको गोठीज्यूलामा घुइँचो लाग्ने गर्दछ । 


गोठीज्यूलामा बिहान रारा जाने र बेलुका फर्केर बास बस्ने पर्यटकको संख्या बढिरहेको छ । गोठीज्यूला पछि विस्तार भएको बजार हो । यहाँ पहिला बजार थिएन । सडक पुगेपछि बजार विस्तार भएको स्थानीय दीपेन्द्र उपाध्यायले बताए । 


उनले भने, ‘नेपालकै ठूलो तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको चहलपहल बढ्दै गएको छ । रारा घुम्ने उत्तम समयका रूपमा मानिने चैत सुरुसँगै यहाँ पर्यटकको संख्या बढ्न थालेको हो ।’ 


चालू आर्थिक वर्षको ८ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए ।


उनका अनुसार ४ हजार ४ सय ९ जना पर्यटकमध्ये ७ जना विदेशी छन् । ४४ सय २ जना नेपाली पर्यटक रहेका छन् ।


कोभिडपछि बाह्य पर्यटक भन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको घुइँचो रहेको उनले उल्लेख गरे । ‘चैत सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ’, रोकायाले भने, ‘दैनिक करिब डेढ सय बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।’


चालू आर्थिक वर्षको ८ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ । विगतका तुलनामा बाह्यको पर्यटकको आगमन घटेपछि राजस्व संकलन पनि घटेको निकुञ्जले जनाएको छ ।


रारा पुग्न पछिल्लो समय नाग्म–गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । नियमित २÷३ उडान मुगु भर्ने भएकाले हवाई मार्गबाट आउने पर्यटक संख्या पनि बढिरहेको छ ।


रारा तालमा पर्यटक बढ्न थालेपछि होटल कम भएकाले बास बस्न भने समस्या छ । रारा ताल आसपास भएका होटल भरिभराउ हुने र अधिकांश पर्यटकलाई बस्ने बासको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो ।


ढिला पुग्ने, सम्पर्क गरेर नजाने पर्यटक टेन्ट हालेरै भए पनि चौरमा बस्ने गरेको निकुञ्जका सूचना अधिकारी रोकायाले जानकारी दिए ।


उनका अनुसार पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिजर्भ गरेर विशेषगरी काठमाडांै, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् ।


पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा हवाई चाप बढेको छ । नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटक बढेपछि उडान भर्न भ्याई–नभ्याई भएको तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए ।


रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकको समेत आम्दानी बढेको छ । घोडामार्फत पर्यटकलाई घुमाएर मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँका स्थानीयले मनग्य कमाइ गरिरहेका छन् ।