close

जनगणनाको पूर्वतयारीमा जुट्यो खोटाङ

जनगणनाको पूर्वतयारीमा जुट्यो खोटाङ

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी २५ जेठदेखि ८ असारसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले जिल्लास्तरीय सचेतना गोष्ठी गरेको हो ।

 

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जनगणनाको परिचय, जनगणनाको आवश्यकता, नेपालको जनगणनाको इतिहास, जनगणनाका क्रममा गरिने घर तथा घरपरिवार लगत सूचीकरण, सामुदायिक प्रश्नावली, मुख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरण आदिबारे जानकारी दिइएको छ ।

 

सहभागीलाई राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्यबारे जानकारी गराइएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइरालाले बताए । 

 

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्ला जनगणना कार्यालयले राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी गरेको हो । ‘जनगणना किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्यांकको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषताबारे जानकारी दिन सचेतना गोष्ठी गरिएको हो,’ जनगणना अधिकारी कोइरालाले भने, ‘सहभागीलाई जनगणनाका प्रश्नावली, घरपरिवार लगत सूचीकरण, जनगणनामा समेटिने विवरण सम्बन्धमा पनि जानकारी दिएका छौँ ।’

 

कार्यक्रम जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेवी खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो । 

 

जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा गत ३ चैतमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो । आगामी १ देखि ४ वैशाखसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहने गरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनगणना अधिकारी कोइरालाले बताए ।

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यक्षेत्र रहने गरी हलेसी तुवाचुङको हलेसीमा, बराहपोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहने गरी खोटेहाङको खोटाङ बजारमा तथा रावाबेँसी, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहने गरी रावाबेँसीको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिनेछ । 

 

२ चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनाको हाराहारी जनशक्ति परिचालन गरिने कोइरालाले बताए । नियुक्त भएका सुपरिवेक्षकले आगामी २६ वैशाखदेखि १४ जेठसम्म घरपरिवार सूचीकरणको काम गर्नेछन् । यस्तै, गणकले २५ जेठदेखि ८ असारसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।


‘पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घरपरिवारका पुरुष, महिलाको संख्या, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण संकलन गरिन्छ,’ जनगणना अधिकारी कोइरालाले भने, ‘दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिन्छ ।’


जिल्ला जनगणना कार्यालयका अनुसार २० चैतसम्म सुरपरिवेक्षकको सूची सार्वजनिक गर्ने, १९ देखि २५ चैतसम्म स्थानीय जनगणना अधिकारी तालिम सञ्चालन गर्ने, २९–३० चैतमा स्थानीय जनगणना अधिकारी नियुक्त गर्ने, १–४ वैशाखमा स्थानीय जनणनाको कार्यालय स्थापना गर्ने, ११ देखि १५ वैशाखभित्र जनगणना सामग्री स्थानीय तहमा पठाउने, १३ देखि १५ वैशाखसम्म सुपरिवेक्षक नियुक्त गरी जिम्मेवारी तोक्ने र तालिमको तयारी गरिनेछ ।


यस्तै, १५ वैशाखभित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, १६ देखि २२ वैशाखसम्म सुपरिवेक्षक तालिम आयोजना गर्ने, २६ वैशाखदेखि १४ जेठसम्म घरपरिवार सूचीकरण गर्ने कार्यतालिका छ ।


यस्तै, १७ देखि २२ जेठसम्म गणकलाई तालिम, २४ जेठमा गणक कार्यक्षेत्रमा पुग्ने र २५ जेठदेखि ८ असारसम्म गणनाको काम गर्ने, १५ देखि २० असारसम्म संकलित फारम रुजु गर्ने, २८ देखि ३० असारभित्र संकलित फारम विभागमा पठाउने र असार मसान्तमा जनगणनाको कार्यालय बन्द हुने जिल्ला जनगणना अधिकारी कोइरालाले बताए । २०६८ को जनगणनाअनुसार खोटाङको जनसंख्या २ लाख ६ हजार ३१२ थियो ।