close

बालमैत्री बन्दै चाँगुनारायण

बालमैत्री बन्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणासम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

 

नगरपालिकालाई बालमैत्री नगरको रूपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई सहभागी गराएर नगरस्तरीय २ दिने अभिमुखीकरण सञ्चालन गरिएको हो । 

 

नगरभित्रका सबै संघ–संस्था तथा क्षेत्रलाई बालबालिकामैत्री बनाउन स्थानीय नागरिकलाई तालिम दिइएको हो । २ दिने अभिमुखीकरण १९ र २० चैतमा सञ्चालन गरिएको छ । 

 

महिला तथा बालबालिका शाखा प्रमुख नीला घिमिरेले नगरलाई बालमैत्री बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बताइन् । उनका अनुसार नगरपालिकाले आगामी ८ महिनाभित्र चाँगुलाई बालमैत्री नगरको रूपमा स्थापित गर्न आवश्यक तयारी थालेको उनले जानकारी दिइन् । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रले नगरपालिकालाई बालमैत्री नगरको रूपमा स्थापित गर्ने आफ्नो सपना रहेको उल्लेख गरे । 

 

‘विकास भौतिक पूर्वाधारमा मात्रै हुँदैन । सामाजिक, मानसिक र विविध पक्षमा पनि विकास आवश्यक छ । सोहीअनुरूप हामीले बालमैत्री नगर बनाउने उद्देश्य लिएका हौँ,’ उनले भने, ‘बालमैत्री नगर बनाउन ढिला भइसकेको महसुस भएको छ । अब आवश्यक तयारी गरी चाँडै बालमैत्री नगरको रूपमा घोषणा गर्नेछौँ ।’ 

 

कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका विद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग सञ्चालकसमेत सहभागी थिए ।