close

वडास्तरीय ‘समुदायमा सरकारी वकिल संवाद’

वडास्तरीय ‘समुदायमा सरकारी वकिल संवाद’

Trulli
ADVERTISEMENT

खोटाङ– न्यायमा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले ‘समुदायमा सरकारी वकिल संवाद’ कार्यक्रम गरेको छ ।

 

सरकारी वकिलको कार्यालयबाट सम्पादन हुने कार्य तथा न्याय सम्पादन प्रक्रियालाई जनमानससम्म पुर्‍याएर न्यायलाई प्रभावकारी बनाउन हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडामा समुदायमा सरकारी वकिल संवाद विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । 


सरकारी वकिलको कार्यालयबाट प्रवाह हुने सेवा, सम्पर्क गर्ने माध्यम, पीडितले कानुनी सल्लाह लिने विधि, सरकारवादी मुद्दाको अनुसन्धानमा नागरिक समाजले खेल्ने भूमिका आदिबारे जानकारी दिन ‘समुदायमा सरकारी वकिल संवाद’ कार्यक्रम गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रमेश भट्टराईले बताए । 

 

हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सरकारी वकिलको कार्यालयले प्रवाह गर्ने सेवा, सेवा लिने प्रक्रिया एवं सरकारी वकिलप्रति समुदायको जिज्ञासाबारे छलफल गरियो ।

 

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा न्यायाधिवक्ता भट्टराईले सरकारवादी मुद्दाको अनुसन्धान र अभियोजनमा सरकारी वकिलको भूमिका तथा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमौरियाले सरकारवादी मुद्दाको अनुसन्धानमा प्रहरीको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 


‘सरकारवादी मुद्दामा पीडितले कसरी सम्पर्क गर्ने, कानुनी सल्लाह कसरी लिने, कुन मुद्दा कसले हेर्ने भन्नेबारे समुदायलाई जानकारी दिन कार्यक्रम गरिएको हो,’ न्यायाधिवक्ता भट्टराईले भने, ‘कार्यक्रममा सहभागीलाई सरकारवादी मुद्दाको अनुसन्धानमा नागरिक समाज र जनप्रतिनिधिले खेल्ने भूमिकाबारे पनि जानकारी गराएका छौँ ।’ ‘समुदायमा सरकारी वकिल संवाद’ कार्यक्रममा बाहुनीडाँडाका करिब डेढ सय स्थानीयको सहभागिता थियो । 

 

कार्यक्रममा उपमेयर राई, अदालतका स्रेस्तेदार रमाकान्त यादव, सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेल, वडाध्यक्ष रुद्र राई, बार एसोसिएसनका ओमप्रकाश घिमिरेलगायतले न्याय प्रणाली र न्यायमा पहुँच पुर्‍याउन अपनाउनुपर्ने विधिबारे धारणा राखेका थिए ।