close

जुम्लाको मुल्ली गाउँमा आगलागी: ३५ घर नष्ट, आगो नियन्त्रणबाहिर

जुम्लाको मुल्ली गाउँमा आगलागी: ३५ घर नष्ट, आगो नियन्त्रणबाहिर

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तिला गाउँपालिका वडा नम्बर ९ ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणबाहिर छ । 

 

पर्याप्त पानी नभएका कारण आगो नियन्त्रणमा आउन नसकेको हो । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

 

वडाध्यक्ष बोहराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन । घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’

 

३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छेहरू बेहोस छन् । आगलागीको एकिन विवरण आउन बाँकी छ । 

 

यो तिलाको वडा नम्बर ९ ढिपु गाउँको वर्षायाममा ६ महिना बस्ने बस्ती हो । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपु गाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो । 

 

वडाध्यक्ष बोहराले भने, ‘स्याउला संकलनका लागि १–२ दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।’ उनले उद्धार र राहतका कार्यमा साथ दिन सरोकारवालालाई आग्रह गरे । 

 

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पठाइसकेको जानकारी दिए ।

 

सदरमुकाम खलंगादेखि गएको प्रहरीको टोली ५ घन्टापछि आगलागी स्थलमा पुग्नेछ । उनले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवालालाई आग्रह गरेका छन् । 

 

यसअघि तिला गाउँपालिकाको वडा नम्बर ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए । योसँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ ।

 

सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिकस्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा ल्याउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।