स्थानीय उद्यम

नगरको फोहोरबाट कम्पोष्ट मल र वायोग्याँस प्लान्ट 

एक घण्टामा एक हजार केजी कम्पोष्ट मल उत्पादन


  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा निर्माण गरिएको कम्पोष्ट मल र वायोग्याँस प्लान्ट उद्घाटन गरिएको छ । 

 

अर्गानिक नगर बनाउने अभियानलाई सफल पार्नका लागि नगरपालिकाल अर्थ मन्त्रालयको विशेष अनुदान तथा प्रदेश सरकारको गरी करिब २ करोड ७० लाख रुपैयाँमा निर्माण गरिएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोत केन्द्र शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिव वर्ष दिनमै एकैठाउँमा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट सहितको संरचना निर्माणको काम पुरा गरेको हो । बिशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए । 

 

आवधिक योजनामा उल्लेख भए अनुसार नगरपालिकालाई अर्गानिक नगरपालिका बनाउने र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउने योजना सफल पार्न कम्पोष्ट तथा वायोग्याँस प्लान्ट निर्माण गरिएको हो । 

 

‘नगरपालिकामा हामी निर्वाचित भएर आएपछि आवधिक योजना तयार पा¥यौं र मुख्यमन्त्रीकै हातबाट सार्वजनिक गरेका थियौँ,’ रिजालले भने, ‘त्यही आवधिक योजनामा समावेश गरिएका लक्ष्यमध्ये नगरपालिकालाई अर्गानिक नगरपालिका बनाउने र कृषिमा आत्मनिर्भर बनाउने उद्घोष ग¥यौं । त्यसै उद्घोषलाई साकार पार्न प्लान्ट निर्माण गरिएको हो ।’ 


नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । 


अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्विन राख्न तथा डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाख खर्च भएको छ । 


वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरपालिकाले जनाएको छ । 


बजारबाट निस्किएको फोहोरमैला र सेफ्टी ट्यांकीमा भरिएर रहेको दिसालाई प्रयोग गरेर मल उत्पादन गर्दै आम्दानीको माध्यम बनाउने वातावरण बनेको नगरपालिकाका उपमेयर बिणादेबी राईले बताईन् । 


कम्पोष्ट मल तथा ग्याँस प्लान्टका लागि स्थानीय किसान एवं नगर कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले २ रोपनी जग्गा निशुःल्क उपलव्ध गराएका छन् । कम्पोष्ट मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको छ । 

 

उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा डिलरमार्फत विक्री वितरण गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । ‘तराईबाट प्रांगारिक मल ल्याउन सकिने अवस्था थिएन । प्रांगारिक मल नपाएपछि रासायनिक मल नै प्रयोग गर्नुपर्ने बाध्यता थियो । कम्पोष्ट मल प्लान्ट बनेपछि माटो सुहाउँदो मल प्राप्त हुने भएकाले किसानमा उत्साह जगाएको छ,’ बिश्वकर्माले भने, ‘उत्पादनका हिसावले कम्पोष्ट मल प्रतिकेजी २० देखि ३० रुपैयाँ पर्ने अनुमान गरिएको छ । तर किसानले एक पटक प्रयोग गरेपछि अरु मल प्रयोग गर्दैनन् । यो मल त्यती मलिलो र राम्रो हुन्छ ।’ 


प्राविधिकका अनुसार टर्नरमा काटेर थुममा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा बोरामा प्याक भएर मलकारुपमा बाहिर निस्कन्छ । 


कम्पोष्ट मल प्लान्टसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गोबर हालेर ग्यास उत्पादन गर्ने प्रविधि जडान गरिएको छ । ३ हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भर्न मिल्ने नगरका कार्यपालिका सदस्य बिश्वकर्माले बताए । 


दिक्तेलबजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसावलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । 


आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल र बायोग्याँस प्लान्टभन्दा केहीमाथि सुधारिएको गोठमा भैंसी पालन गरिएको छ । गोठको स्याउलालाई भने कम्पोष्ट मल उत्पादनमा उपयोग गरिने छ । 


ग्याँस उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकैरुपमा वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘घर–घरमा ग्याँस भन्ने नाराको अभ्यास सोल्मामा हुने भएको छ,’ बिश्वकर्माले भने, ‘यो एलपी ग्याँसभन्दा टिकाउ पनि हुन्छ ।’ 


कम्पोष्ट मल र बायोग्याँस प्लान्ट आसपासमा मल परिक्षणका लागि हाइटेक टनेल, सिँचाई पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएको छ । सोही ठाउँमा कृषि तथा पशु प्रयोगशाला पनि स्थापना गरिएको छ ।