close

बझाङको झनाना पुलः ९० प्रतिशत काम सकियो

बझाङको झनाना पुलः ९० प्रतिशत काम सकियो

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना पुलमा असार मसान्तभित्र मोटर गुड्ने भएको छ । पुल निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ । 

 

१० प्रतिशत काम असार मसान्तभित्र पूरा हुने गरी काम भइरहेकाले असार मसान्तसम्म थलारा गाउँपालिकामा मोटर गुड्ने भएको हो ।

 

पुल निर्माण कम्पनी शर्मा बिकोई जेभीका आधिकारिक व्यक्ति नवराज थापाका अनुसार १ सय १ मिटर लामो झनाना मोटरेबल पुलको पिलर निर्माण भई ट्रससमेत बनिसकेकाले त्यसमाथि स्ल्याप हाल्ने र रेलिङ निर्माण मात्र बाँकी छ । 

 

उक्त कार्य असार मसान्तसम्म सकिइसक्ने र त्यसपछि सहज रूपमा थलारामा गाडी गुड्न सहज हुने थापाले जानकारी दिए । 

 

उनका अनुसार बर्खा सिजन असार, साउन र भदौबाहेकका महिना छाडेर २ वर्षमा पुल निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो ।

 

स्थानीय, संघीय चुनाव र पछिल्लो चरणमा कोरोना संक्रमणका कारण कामदार एवं निर्माण सामग्री अभावका कारण समयमा पुल निर्माणमा ढिलाइ भएको हो ।

 

करिब ९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त मोटरेबल पुल २०७४ माघबाट बनाउन सुरु भएको थियो । सम्झौता अवधिमा पुल निर्माण नहुँदा १ पटक म्याद थप गरिएको थियो ।

 

सेती नदी वारिपारिको बझाङ जोड्ने स्थान झनाना, सिमार, पानकोट, तमैलमा मोटरेवल पुल निर्माण भइरहेका छन् । 

 

तीमध्ये पानकोट पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्यको निर्माण भइरहेको छ । ती पुल सञ्चालनमा आएपछि सेती नदी वारपार गर्न सहज हुनुका साथै यस क्षेत्रको विकासमा सघाउ पुग्ने नागरिकको अपेक्षा छ ।