close

साहित्य उत्सवमा रमायो नमोबुद्ध

साहित्य उत्सवमा रमायो नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले साहित्यमार्फत नगरेको पहिचानलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित नमोबुद्ध साहित्य उत्सवको तेस्रो शृंखला शनिबार सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् । 

 

साहित्य उत्सवको पहिलो दिन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त साहित्यकारलाई स्वागतसहित नगरपालिकाका विभिन्न ऐतिहासिक स्थलमा भ्रमण गराइएको थियो । 

 

दोस्रो दिन शनिबार नमोबुद्धका प्रमुख एवं रोशी वाङ्मय प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टिपी शर्मा तिमल्सिनाको अध्यक्षता एवं अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्राध्यापक एलबी क्षेत्रीको प्रमुख आतिथ्यमा साहित्य उत्सव आयोजना गरिएको थियो । 

 

उत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक एलबी क्षेत्रीले नमोबुद्ध नगरपालिका साहित्यको उर्बरभूमि रहेको र नगरमा साहित्यिक वातावरण निर्माणका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

 

नगरमा हुने समग्र विकास निर्माणका कामलाई साहित्यमार्फत उजागर गरेपछि मात्रै व्यापकता पाउने उनको भनाइ छ । नगर प्रमुख तिमल्सिनाले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवद्र्धनका लागि विगतदेखि गर्दै आएको साहित्य उत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको बताए ।

 

आगामी दिनमा नगरपालिकाका सबै वडामा राष्ट्रिय स्तरका साहित्यकारको जमघटसहित साहित्यिक कार्यक्रम आयोजना गर्ने तिमल्सिनाले जानकारी दिए । 

 

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक, पत्रकार एवं साहित्यकार फूलमान वलले साहित्यमार्फत नमोबुद्धको पहिचानलाई विश्वव्यापी बनाउन आफूहरूले प्रयास गरिरहेको र यसमा नगरपालिकाले लिएको अग्रसरता प्रशंसनीय भएको बताए ।

 

नमोबुद्धको ऐतिहासिकताका विषयमा नाटक तयार पारिएको, देशका विभिन्न ठाउँमा प्रदर्शन गरिएको र नाटक, गीत, कवितामार्फत स्थानीय पहिचानलाई व्यापक रूपमा प्रचार र संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

 

कार्यक्रममा उपप्राध्यापक एवं साहित्यकार महेश पौड्यालले बर्सेनि यस्तो कार्यक्रम आयोजना गरेर साहित्यको जगेर्ना गर्न नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरमा साहित्यिक गतिविधि अगाडि बढाउन आगामी दिनमा थप कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा साहित्यले समाजमा पार्ने प्रभावलगायत विषयमा चर्चा-परिचर्चा भएको थियो । 

 

नेपाल टेलिभिजनका महाप्रबन्धक वललाई पत्रकारिता र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो । कवि एवं निबन्धकार मोमिला जोशीको अध्यक्षतामा भएको साहित्य उत्सवको दोस्रो सत्रमा राष्ट्रिय एवं स्थानीय स्तरका साहित्यकारले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

 

१० वर्षीय बालक संयोजन पौडेलको कविता वाचनसहित सुरु भएको कविता वाचन सत्रमा साहित्यकार महेश पौड्याल, डा. अशोक थापा, स्नेह सायमी, ठाकुर बेल्वासे, मोमिला जोशी, प्रतीक ढकाल, सविता गौतम पौडेल, लक्ष्मी उप्रेती, गोपिन्द कँडेल ‘आँसु’, अनिता लामा, जयराम तिमल्सिना, जनार्दन रिजाल, तारादेवी सुनुवार, श्रीराम अधिकारी, प्रदीप पोखरेल, रामचन्द्र पौडेल, कमल भुर्तेल तथा स्थानीय विद्यालयका छात्रछात्राले कविता वाचन गरेका थिए ।
 

साहित्यकार एवं सेवानिवृत्त सहसचिव प्रतीक ढकालले कार्यक्रममा प्रस्तुत गरिएका रचनामाथि टिप्पणी गरेका थिए ।

 

कार्यक्रमकै अवसरमा विभिन्न साहित्यकारले रोशी वाङ्मय प्रतिष्ठानका लागि विभिन्न कृति हस्तान्तरणसमेत गरेका थिए । नगरप्रमुख तिमल्सिनाले नमोबुद्ध नगर गानका रचनाकार गोविन्द कँडेललाई प्रतिष्ठानको आजीवन सदस्य बनाउने घोषणा गरे ।

 

कार्यक्रम नमोबुद्ध नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालन गरेकी थिइन् ।