close

उपत्यकाव्यापी धिमे घन्काउँदै थिमि

उपत्यकाव्यापी धिमे घन्काउँदै थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमिस्थित ओेस्ला नेपालको आयोजना र थिमि नगरपालिकाको सहकार्यमा धिमे बाजा प्रतियोगिता हुन लागेको हो ।

 

ओेस्लाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुशील जोशीले धिमे बाजा प्रतियोगितामार्फत स्थानीय संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने एवं धिमे प्रशिक्षणको अभियान सुरु भएको जानकारी दिए । यसबाट जात्रालाई अझ अनुशासित बनाउन सहयोग पुगेको उनको भनाइ छ ।

 

संस्थाका अध्यक्ष राजेश श्रेष्ठले नेपाली परम्परा, कला, संस्कृति, बाजा तथा भाषाको संरक्षण तथा संवद्र्धन गर्नु नै स्पर्धाको मूल उद्देश्य भएको चर्चा गरे । सोही उद्देश्यअनुरूप नेपाली परम्परागत कला, संस्कृति र मौलिक लोकबाजाजस्ता अमूर्त सम्पदाको संरक्षण र सम्वर्द्धनका लागि २०५८ देखि धिमे बाजा स्पर्धा गर्दै आएको उनले बताए ।

 

‘धिमे बाजाको परम्परागत पहिचान यसको सुर, ताल, बोलको मौलिकता कायम राख्न र संरक्षण तथा प्रवद्र्धनका लागि संस्थाबाट विगतदेखि नै जिल्ला र उपत्यकाव्यापी चौथो पटकसम्म धिमे बाजा प्रतियोगिता सम्पन्न गरिसकेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सोही कार्यलाई निरन्तरता दिँदै यस वर्ष २८ चैतमामा बालकुमारी मन्दिरको प्रांगणमा पाँचौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता आयोजना गरिएको हो ।’

 

सो स्पर्धाका लागि मध्यपुर थिमि नगरपालिकाको सहयोग रहेको उनको भनाइ छ । प्रतियोगितामा १५ वटा खलः पुचः ले सहभागिता जनाउने विश्वास व्यक्त गरे । 
 
प्रतियोगितामा विजयी तथा उप-विजयी टोलीका लागि सिल्ड, पदक, प्रमाणपत्रसहित नगद पुरस्कारसमेत व्यवस्था गरिने आयोजकले बताए । पहिलो, दोस्रो र तेस्रो हुने विजयी टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन् ।