close

डढेलोले जले डाँडागाउँका घर

डढेलोले जले डाँडागाउँका घर

Trulli
ADVERTISEMENT

खोटाङ– सामुदायिक वनमा लागेको डढेलोले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर २ डाँडागाउँमा घर जलेका छन् । स्थानीय खरुवा खोला नजिक रहेको बालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा शनिबार भवीन्द्र सेन्चुरी र नैनबहादुर विकको घर जलेको हो ।

 

ढुंगामाटोको तीन तले घर जल्दा भवीन्द्रको करिब साढे ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी याम्खाले जनाएको छ । उनको १० मुरी धान, ३ मुरी कोदो, ५ मुरी मकै, १६ पाथी दाललगायत जलेको छ । 

 

आगलागीमा उनकै ढुंगामाटोको मतान र गोठसमेत जलेको स्थानीय कवीन्द्र राईले बताए । भवीन्द्र ५ वर्षअघि बसाइँ सरेर सुनसरी गएपछि सो घरमा नैनबहादुर बस्दै आएका थिए । 

 

भवीन्द्रको घरमा बस्न थालेपछि नैनबहादुरको घर भने रित्तो थियो । बस्दै आएको घर जलेपछि नैनबहादुरको ७ जनाको परिवारको विचल्ली भएको छ । 

 

डढेलोले स्थानीय अजम्बर राईको खुतुम्बु पशुपालन कृषि फार्ममा लगाइएको अलैँची नष्ट भएको छ । अजम्बरको ३ रोपनी जग्गामा लगाइएको करिब १५ सय बोट अलैँची नष्ट हुँदा २ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ । 

 

यस्तै, एकराज राईको १ रोपनीमा लगाइएको ३ सय बोट अलैँची जल्दा ५० हजार रुपैयाँको क्षति भएको छ । तिलकबहादुर राईको करिब सय बोट अलैँची जल्दा २० हजार र नवीनचन्द्र राईको १ रोपनीमा लगाइएको ५ सय बोट अलैँची जल्दा १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ । 

 

केही समयअघि रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिकाको वडा नम्बर १ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको थियो । यस्तै, रानी सामुदायिक वनमा लागेको डढेलोले केपिलासगढी गाउँपालिकाको वडा नम्बर ३ बाँसपानी पोखरीका पदमबहादुर खड्काको घर जलेको थियो ।

 

सामुदायिक वनमा फैलिएको डढेलो गाउँ पस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १५ विजयखर्कस्थित बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो ।